फेडको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो

मनिषा थापा

हङकङ, ५ पुस (रासस/एएफपी) : अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो पटक ब्याजदर बढाउनु भएको छ ।

अमेरिकी सेयर बजारको सूचक डाउ यस वर्ष २०१८ मा सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ । फेडका अध्यक्ष जेरोम पावेलले आर्थिक सन्तुलन कायम राख्न ब्याजदर बढाउनै पर्ने बाध्यता रहेको बताउनुभएको छ ।

फेडको बोर्डको सर्वसम्मत निर्णयका आधारमा निकै सोचविचार गरी ब्याजदर शून्य दशमलब २५ प्रतिशत बढाइएको बैंक अध्यक्ष जेरोमले बताउनुभयो । अब बैंकको ब्याजदर २ दशमलब ५ प्रतिशत पुगेको छ ।

लगानीकर्ताहरुले विश्वकै आर्थिक वृद्धिमा आगामी वर्ष केही न्यून हुने भएका कारण अमेरिकी केन्द्रीय बैंक केही नरम हुने अपेक्षा गरेका थिए ।

“अमेरिकी केन्द्रीय बैंक शेयर बजारको ठूलो मित्र रहँदै आएको छ, तर अहिले केही शत्रुजस्तो देखिन थाल्यो,” नुभीनका प्रमुख रणनीतिज्ञ बब डोलले बताउनुभयो ।

फेडले दुईवटा मात्र ब्याजदर वृद्धिको योजना रहेको जनाएको छ । अमेरिकी अर्थतन्त्रको वृद्धि र मुद्रास्फितीलाई ध्यान दिएर ब्याजदरमा समायोजन गर्नुपरेको फेडको भनाइ छ ।

नेसनल अस्ट्रेलियन बैंकका रणनीतिज्ञ रे आट्रिलले अर्को वर्ष पनि फेडले ब्याजदरमा समायोजन गर्न सक्ने सङ्केत दिएकाले बजार अस्थिर हुनसक्ने बताउनुभयो ।

फेडको ब्याजदर वृद्धिको असर बिहीबार एसियाली शेयर बजारमा प्रस्टैसँग अनुभव गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले पहिल्यै कठिन परिस्थितिबाट गुज्रिरहेको शेयर बजारमा समस्या आएको हो । तथापि विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीचको व्यापार युद्धलाई मत्थर बनाउन अहिले ९० दिनको युद्धविराम भएको छ, र दुबै मुलुकबीच आगामी जनवरीमा वार्ता शुरु हुने योजना छ ।

टोकियो शेयर बजार बिहीबार १ दशमलब ७ प्रतिशतले घटेको छ । चीनको शाङघाई पनि शून्य दशमलब ५ प्रतिशतले घटेको छ । जापान र चीनका केन्द्रीय बैंकले शेयर बजारमा नकारात्मक असर पर्न नदिन ब्याजदरमा परिवर्तन गरेका छैनन् । बैंक अफ चाइनाले तरलता कायम राख्न नयाँ योजना पनि घोषणा गरेको छ । सियोल र सिड्नीको शेयर बजारमा कमी आएको छ ।

प्रतिक्रिया