बजेटमा सन्तुलित योजनाहरु समावेश हुने

राष्ट्रिय समाचार समिति

हेटौँडा, १० असार: प्रदेश–३ प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारद्वारा आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि प्रस्तुत गरिएको बजेट विनियोजित शीर्षकअन्र्तगत केही जिल्लामा बढी योजना परेको सन्दर्भमा आगामी बजेटमा सन्तुलित र समानुपातिक ढङ्गबाट योजना समावेश हुने बताउनुभएको छ ।



प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उठाएको विरोधप्रति उत्तर दिनुहुँदै उहाँले उक्त बैठकमा आजै आश्वासन दिएपछि अवरुद्ध रहेको प्रदेशसभाको बैठक सञ्चालन भएको थियो । यसअघि बसेको प्रदेशसभाको पहिलो बैठकमा प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारद्वारा प्रस्तुत गरिएको बजेटले प्रदेशका जिल्लामा योजनाको कार्यतालिका प्रकाशन हुँदा मुख्यमन्त्री, मन्त्री र केही प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमा योजना समावेश गरिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले प्रतिपक्ष दलका सदस्यले माग गर्नुभएका विभिन्न योजनालाई समावेश नगरी बजेटलाई अपारदर्शी र एकलौटी पक्षको रुपमा प्रस्तुत गरिएकामा सच्याउन माग गर्दै बैठक अवरुद्ध गर्ने जानकारी दिनुभयो । नेता बानियाँले बोलिसकेपछि प्रतिपक्ष दलका सदस्यले आ–आफ्नो स्थानबाट उठेर विरोध गर्नुभएपछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाको लागि बैठक स्थगन गर्नुभएको थियो ।

सभामुख श्रेष्ठको सक्रियतामा सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, प्रतिपक्ष नेपाली काङ्ग्रेसका संसदीय दलका नेता बानियाँ, प्रमुख सचेतक राधा घले, नेपाल किसान मजदूर पार्टीका सुरेन्द्रराज गोसाईं, साझा विवेकशिल पार्टीका रमेश पौडेल र राप्रपा संयुक्तका रिना गुरुङ एवं आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलसहितको कार्यपरामर्श समितिको बैठकले प्रतिपक्ष दलको माग बमोजिम बजेटमा सुधार गर्नुपर्ने योजनालाई समावेश गर्ने सहमति भएअनुसार प्रदेशसभाको बैठक आज अपराह्नबाट सञ्चालन भएको नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया