बम दिदीबहिनी भन्छन्,’अपराधी लुकाउन हाम्रो चरित्र हत्या गरियो, हाम्रो जिन्दगी नै खराब भयो।’ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। निर्मला हत्याकाण्ड भएको अहिले १०० दिन भन्दा बढी भइसकेको छ। तर निर्मलाले न्याय कहिले पाउने हो भन्ने कुराको टुंगो लागेको छैन। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा बम दिदीबहिनी शंकाको घेरामा परेका छन् । किन उनीहरू शंकाको घेरामा परे भन्ने विषयमा अहिले सर्वत्र चासो बढेको छ।

पन्त र रोशनी मिल्ने साथी थिए । भीमदत्त नगरपालिका–२ मा पर्ने सरस्वती मावि महुलिया उल्टाखाममा उनीहरू दुवै कक्षा ९ मा पढ्थे । बर्खे बिदाको छुट्टी चलिरहेको थियो । साउन २० गतेदेखि स्कुल खुल्ने तयारी थियो । निर्मलाको घरनजिकै थियो, स्कुल । सधैं स्कुल पढ्न आउने रोशनी उनकै घरमा आफ्नो साइकल राखेर जान्थिन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्त घरमै चटपटे व्यवसाय गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिइन् । रोशनीको प्रायः सधैंजसो निर्मलाको घरमा आउजाउ भइरहन्थ्यो । तर निर्मला कमै मात्रै रोशनीको घर जान्थिन् । त्यही पनि साथीहरूको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिइन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘भोलि मेरै घरमा आउनू, चटपटेको पैसा पनि दिनु छ, सँगै बसेर होमवर्क गरौंला’, साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिँदै दुर्गादेवी पन्तले भनिन्, ‘उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे नै गएकी थिई ।’

रोशनीको घरमा उनकी दिदी बबिता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् । होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताइए पनि उनी भने घर पुगिनन् । ‘म त्यही दिन सामान लिन वनवासा गएकी थिएँ’, दुर्गादेवीले भनिन्, ‘घर पुगेर निर्मला कहाँ छे भनेर खोजें, अरू छोरीले साथी रोशनीकोमा गएकी छ भने ।’ साँझ पर्न लाग्दासमेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगेको उनको भनाइ छ । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताए पनि उसकी दिदी आक्रोशपूर्ण शब्दमा आफूप्रति खनिएको उनले दुर्गादेवीले बताइन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि उनको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनीकै घरमा गएर छोरी खोज्ने प्रयास गरें’, उनले भनिन्, ‘तर रोशनीकी दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखाइन् ।’

यस्तै यस्तै कारणले गर्दा उनीहरु शंकाको घेरामा परेका हुन्। उनीहरु शंकाको घेरामा परेका मात्र हुन् उनीहरुको केहि गल्ति छैन भन्ने कम नै छन्। धेरै जसोले उनीहरुको संलग्नता भएकै बताएका छन्। यद्धपि उनीहरु स्वयम् पनि संलग्नता भएको स्विकार्न तयार छैनन्। अनुसन्धान भने भइ नै रहेको छ।

हेर्नुहोस् बम दिदीबहिनीसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू