बाढीमा परी २० को मृत्यु, अधिकांश बालबालिका

admin

अम्मान, ९ कात्तिक: जोर्डनमा आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश विद्यालयका छात्रछात्राहरू रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । स्थानीय एक पत्रिकाले यस घटनालाई दुःखान्त घटनाको संज्ञा दिएको समाचारमा जनाइएको छ । घटनामा परी अरु ३५ जना घाइते भएका छन् । बिहीबार आएको अत्यधिक बर्षाका कारण जोर्डनमा बाढी आएको हो ।

घटनामा परेकाहरूलाई खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीहरूलगायतका विभिन्न निकायका उद्धारकर्ता तथा सहयोगीहरू घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा अहिले पनि सुरक्षाकर्मीहरूले हराइरहेका आठ जनाको खोजी गरिरहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । पश्चिमी अम्मानदेखि झण्डै ५० किलोमिटर टाढा पर्ने सो घटनास्थल पर्यटनका लागि लोकप्रिय क्षेत्र मानिन्छ ।

मृत्यु भएका मध्ये अधिकांश ११ देखि १४ बर्षका रहेका थिए । उनीहरू विद्यालयबाट भ्रमणका लागि त्यस तर्फ गएका थिए । विद्यार्थी बोकेको बस बाढीले बगाएको थियो । यति ठूलो संख्यामा आफ्ना नागरिकको निधन भएपछि जोर्डनका राजा अब्दुल्लाह द्धितीयले बहराइनको भ्रमण स्थगित गर्नुभएको छ ।
-रासस÷एएफपी

प्रतिक्रिया