बीउ उत्पादनमा व्यावसायिक बन्दै

शर्मिला गुरुङ

तम्घास, ८ फागुन : गुल्मीमा मकै जोन कार्यक्रम लागू भएसँगै आजभोलि यहाँका किसान बीउ उत्पादनमा व्यावसायिक हुँदै जान थालेका छन् ।


गतवर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले बीउ उत्पादनमा सहयोग गरेका कृषक समूह सहकारीबाट यसवर्ष बीउ उत्पादन गरी बीउको बजारीकरणमा छन् । परियोजनाका अनुसार यसवर्ष जम्मा ४३ मेट्रिकटन मकैको अरुण २, रामपुर कम्पोजिट, मन ३, मन ६ लगायतका जातको कारोवार भएको परियोजनाको मकै जोनका प्रमुख कुलप्रसाद दवाडीले बताउनुभयो ।

मकै जोनको सहयोगमा खेतमा अरुण २ तथा बारी क्षेत्रमा मनकामना ३, मनकामना ५ र मनकामना ६, देउति लगायतका जातको बीउ वृद्धि भइरहेको छ । इश्मा गाउँपालिका–६ अन्तर्गत अमरपुरमा रहेको दिपज्योति बहुउद्देश्शीय कृषक समूहका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार यसवर्ष मात्र १० मेट्रिक टन अरुण २ को प्रमाणितस्तरको बीउको कारोवार भएको र त्यसबाट समूहमा करीब रु ६ लाख ५० हजार बराबरको आम्दानी भएको छ ।

त्यसैगरी मदाने गाउँपालिका– ६ पुर्कोटदहका ६ कृषक सहकारीबाट यसवर्ष करीब २५ मेट्रिक टन मनकामना ३, मनकामना ५ र मनकामना ६ जातका मकैको बीउको कारोवार भएको स्थानीय कृषक लोकबहादुर कुँवरले बताउनुभयो ।

मकै जोन कार्यक्रम कार्यान्वयन पश्चात स्रोत बीउमा अनुदान, बीउबालीको फिल्डनिरीक्षण, बीउ प्रशोधन एवँ भण्डारणका लागि प्रशोधन मेसिनरी, भण्डारण गृहलगायतमा अनुदान सहयोगका कारण स्थानीय कृषकलाई उक्त सफलता मिलेको हो ।

बीउ उत्पादनका लागि पूर्वाधार विकास भएका कारण खयन मकैको तुलनामा दोब्बर मूल्य किसानले बीउबाट प्राप्त हुनेहुँदा आगामी वर्ष त्यस क्षेत्रका ११ कृषक समूह बीउ उत्पादन गर्ने योजनामा छन् । मकै जोन गुल्मीले बीउ उत्पादनलाई व्यावसायीकरण गर्न स्रोत बीउमा अनुदान, बाली निरीक्षण, बीउ प्रमाणिकरण, बीउ प्रशोधन तथा भण्डारण गृह निर्माण जस्ता पूर्वाधारमा सहयोग गर्ने गरेको परियोजना प्रमुख दवाडीले बताउनुभयो ।

यस आर्थिक वर्षमा मात्र परियोजनाले यान्त्रिकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप जमीन जोत्नेदेखि मकै छोडाउने मेसिनसहितको सेट रहने गरी करीब २० कृषक समुह र सहकारीमा मेसिनरी आंैजारसमेत उपलब्ध गराइसकेको छ । रासस

प्रतिक्रिया