बुटवलमा कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन गर्दै

मनिषा थापा

बुटवल, १० असोज  :  लालटिन कृषि सहकारी संस्थाले आजदेखि बुटवलमा उपभोक्ता पसल सञ्चालन गरेको छ ।

सहकारीले सञ्चालन गरेका उपभोक्ता पसल बन्द भइरहेको अवस्थामा आफ्ना शेयर सदस्यलाई समेत लक्षित गरी उपभोक्ता पसल सञ्चालन भएको अध्यक्ष गङ्गालाल सापकोटाले जानकारी दिनुभयो ।

उहाँले कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन हुने र आफ्नै भवनबाट कृृषि उपजको प्रशोधन र प्याकेजिङ गर्ने लक्ष्य भएको बताउनुभयो । सो उपभोक्ता पसल रु एक करोडको लागतमा सञ्चालन हुन लागेको हो । झण्डै एक हजार ८०० सदस्य रहेको सहकारीको उपभोक्ता पसल बुटवल ११ स्थित देवीनगरमा पर्छ ।

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा जिल्ला सहकारी सङ्घका अध्यक्ष भीम तुलाचनले यस्ता खाले उपभोक्ता पसल विस्तारको तयारी भएको उल्लेख गर्दै कृषिलाई प्राथमिकतामा राख्ने विषय प्रशंसनीय भएको बताउनुभयो ।

पूर्व सांसद विनोद पहाडीले सहकारीको मूल्य र मान्यताअनुसार संस्था अघि बढनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रमा काम गरिरहेको सहकारीले सहकारीको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

सहकारीले आगामी कार्यक्रमका रुपमा कृषि तथा पशुपक्षी बीमा र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताएको छ । रुपन्देहीका विभिन्न प्रकारका ७८७ सहकारी दर्ता भएका छन् जहाँ रु १९ अर्ब लगानी भएको छ, भने एक हजार ७०० जना प्रत्यक्ष रोजगारीमा संलग्न छन् । (रासस)

प्रतिक्रिया