बुल्गेरियाली पत्रकारको निर्मम हत्याप्रति सर्वत्र भत्र्सना

रिता घिसिंग

रुज, बुल्गेरिया, २३ असोज : बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ । हत्या गरिएका पत्रकारको सम्झनामा बुल्गेरियाको राजधानी सोफिया र रुज सहरमा ठूलो संख्यामा मानिसहरु मैनवत्ती बालेर उपस्थित भएका थिए ।

रुजको सानो निजी टीभीएन टेलिभिजन कम्पनीका लागि कार्यक्रम प्रस्तोता ३० वर्षीया भिक्टोरिया मारिनोभाको मृत शरीर गत शनिबार भेटिएको थियो ।

हजारौं अश्रुपुरित मानिस रुजको सेन्ट्रल स्क्वाएरमा मारिनोभाप्रति सम्मान प्रकट गर्न भेला भएका थिए । यस्तै कार्यक्रम राजधानी सोफियामा पनि आयोजना गरिएको थियो ।

रुजका धेरै स्थानीयबासीले मारिनोभालाई व्यक्तिगत रुपमै चिनेको बताएका थिए । डानुबमा धेरैवटा परोपकारी कार्यमा मारिनोभा सक्रिय हुनुहुन्थ्यो ।

मुख्य अभियोजनकर्ता सोटीर चाचारोभले अनुसन्धाताहरुले हत्याका बारेमा सूक्ष्म अध्ययन थालिसकेको बताउनुभयो ।

युरोपेली युनियनको सबैभन्दा गरिब राष्ट्र बुल्गेरियामा भ्रष्टाचार मौलाएको छ । सरकारी अधिकारीहरुको आलोचना गर्ने लोकप्रिय कार्यक्रम सञ्चालन गरेकै कारण मारिनोभाको बलात्कार पश्चात हत्या गरिएको अनुमान छ ।

युरोपमा १२ महिनाकै अवधिमा तीन जनाको हत्या भइसकेको छ । यसअघि फेब्रुअरीमा स्लोभाकीयामा इयान कुसिआक र अक्टोबर २०१७ मा माल्टामा डाफ्ने कारुआना गालिजियाको हत्या भएको थियो ।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार युरोपेली युनियनमा प्रेस स्वतन्त्रताको अवस्था सबैभन्दा कमजोर छ । विश्वका १८० देशमध्ये बुल्गेरिया १११औं स्थानमा छ । रासस

प्रतिक्रिया