बुवाको निमर्मतापूर्वक हत्या भएको भन्दै चन्द्र प्रसादका छोराछोरी न्याय माग्न मिडियामा

शर्मिला गुरुङ

काठमाडौं, २९ बैशाख  : सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको आरोप लगाएका हुन्।

उनीहरुका अनुसार मिति २०७५ साल फाल्गुन १८ गते शनिबारका दिन रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नं. ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले फेला पारेको बताईएको थियो ।

उनीहरुले आफ्नो बुवाको निर्ममतापूर्वक हत्या गरिएको भन्दै सरकारसँग सत्य तथ्य छानबिन गरि आफूहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै छोरी संगिताले भनिन्,‘बुवाको शवको अवस्था र पोष्टमार्टम रिपोर्ट हेर्दा यो हत्या नै भएको हाम्रो दाबी छ । त्यसैले सरकारले यसबारेमा छानबिन गर्नुपर्छ । आज ७१ दिन भैसक्यो, तर अहिलेसम्म यसबारेमा प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याउन नसक्नु एकदमै दुःखदायी कुरा हो ।’

आफ्नो बुवाको विरेन्द्रनगरको बिच बजार बुद्धपथमा नै हत्या हुँदासमेत प्रहरी प्रशासन अनुशन्धानमा चुक्नु र अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नुले आफूहरुलाई पीडामाथि थप पीडा थपिएको उनले गुनासो पोखिन् । उनले थप भनिन्,‘मैले मरिसकेको बुवालाई फर्काईदेउ भनेर कसैलाई पनि भनेको छैन, तर न्याय देउ भनिरहँदापनि आजसम्म न्याय नपाउँदा बुवा गुमाउनुको भन्दापनि न्याय नपाउनुको पीडा ठूलो बनेको छ । हाम्रो परिवार यतिखेर विक्षिप्त छ ।’
मृत्तकका छोरा तिलकराज आचार्यले पनि आफ्नो बुवाको हत्या नै भएको दाबी गरे । सरकारले हत्यामा संलग्न दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरि कारवाही गर्नुपर्ने उनको माग थियो । आफ्नो बुवाको शव फेला परेको ठाउँ प्राईभेट हस्पिटल, नाम चलेका होटल र विभिन्न सञ्चार माध्यमहरु भएको ठाउँ भएको सुनाउँदै बुवाको व्यस्त बजारमा हत्या हुँदापनि कुनैपनि स्थानीय मिडियाले समाचार नबनाएकोमा आफूहरु थप संशकित भएको उनले स्पष्ट पारे ।

छोरा र छोरीका अनुसार मृत्तक तत्कालिन नेकपा एमालेमा आवद्ध थिए । अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपामा आवद्ध सदस्य अर्थात भोटर हुँदापनि यो हत्याको विषयमा पार्टी नेतृत्वले यसबारेमा अहिलेसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मृत्तकको शरिरमाथि घाटमै पार्टीको झण्डा ओढाएर उहाँको बारेमा व्याख्या र विश्लेषण गरि एउटा शवमाथि राजनीति गर्ने स्थानीय नेताहरुसमेत ११ दिन पछि एकपटक पनि न त पीडित परिवारलाई भेट्न नै जानुभयो न त जिल्ला प्रहरी कार्यालयमा फलोअपको लागि नै जानुभयो । आफ्नै दुई तिहाईको सरकार हुँदासमेत उहाँहरु आफ्नो पार्टीको कार्यकर्ता माथि भएको अन्यायका विरुद्ध २ शब्द बोल्नुहुन्न भने उहाँहरुबाट हामीले के न्यायको आश गर्ने ?’

उक्त घट्नाको अनुशन्धाननको क्रममा सुरुवाती चरणदेखि नै प्रहरी प्रशासनले त्रुटिपूर्ण तवरले अनुशन्धान गरेको पनि उनीहरुको आरोप छ ।

प्रेस बिज्ञप्ती
चन्द्र प्रसाद आचार्य हत्या प्रकरण वीरेन्द्रनगर, सुर्खेत

म संगिता आचार्य,
विरेन्द्रनगर नगरपालीका वडा नं. १ निवासी ४५ वर्षिय मेरो बुबा चन्द्र प्रसाद आचार्यको गत मिति २०७५ साल फाल्गुन १८ गते शनिबारका दिन रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नं. ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले फेला पारेको बताएको थियो । उक्त घटना किन? कसले? र कसरी? घटायो भन्ने विषयमा २ महिनाभन्दा बढी बितिसक्दा पनि घटनाको बारेमा सत्यतथ्य बाहिर आउन सकेको छैन । जसले गर्दा पिडित परिवारमा निराशा छाएको छ । उक्त घटनाको वास्तविकता नखुल्नुमा अपराधमा संलग्न व्यक्तिले योजनावद्ध तरिकाले हत्या गरि कानुन भन्दा माथिको हैसियत राखी प्रहरी प्रशासन र पिडित परिवार समक्ष घटना लुकाउन खोजेको भन्ने मेरो ठम्याइ छ । साथै यस घटनाप्रति प्रहरी प्रशासनले गम्भिर तरिकाले घटनाको अनुसन्धान नगरेको र अहिलेसम्म सत्यतथ्य बाहिर ननिकाले गुनासो रहेको छ।

विरेन्द्र नगर ६ जुम्ला रोडमा चिया नास्ता पसल (खाजा घर) संचालन गर्दै आउनु भएको मेरो बुवा सामान्य मानिस हुनुहुन्थ्यो । घटना भएको दिन शनिवार परेकोे र शनिवार विरेन्द्रनगर बजार बन्द हुने हुनाले आफन्त भेट्न भनि बुवा आमा दुबै जना विहान १०ः०० बजे खाजा घरबाट निस्कनु भएको थियो । विरेन्द्रनगर १ मा रहेको मेरो मावली घरमा भेटघाट गरी दिउंसोको ३ः०० बजे आमालाई तिमि पसल जाउ म घर सम्म पुगेर नागरिकता लिएर आउंछु भनेर छुट्टिनुभएको थियो । त्यसपछि रातभर उहां खाजा घर फर्किनु भएन । एक्कासी भोलिपल्ट अर्थात २०७५ फाल्गुन १९ गते विहान मात्रै आमा लगायत हामीलाई बुवाको मृत्यू भएको कुरा आफन्त मार्फत जानकारी भयो। स्थानिय तथा राष्ट्र्यि सञ्चारमाध्यमहरुले सो समयमा उक्त घटनाको बारे केहि कतै प्रकाशन तथा प्रशारण गरेका थिएनन्। घटना घटेको ३९ औं दिनमा पिडित परिवारले नै पत्रकार सम्मेलन राखी घटनाको बारेमा जानकारी गराइएको थियो र उनीहरुले आ–आफ्नो सञ्चारमाध्यममा उक्त घटनाको बारेमा प्रकाशन गरेका थिए ।

घटना कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको बिच बजार बुद्धपथमा घटेको थियो । घटनास्थल एकदमै व्यस्त ठाउँ हो । जहाँ नजिकै बिरेन्द्रनगरकै सबै भन्दा ठूलोे प्राइभेट हस्पिटल (देउती नर्सिङ्ग होम प्रा.लि.) रहेको छ । शव भएको ठाउँमा अतिथी होटल, एभरेष्ट होटल र बाँसपानी होटल रहेका छन् जुन होटलहरु रातको १२ बजे सम्म पनि खुल्ला नै रहन्छन् । शव भएको ठाउँदेखी २० मिटरको दुरीमा एउटा स्थानिय पत्रिकाको कार्यालय, रेडियो जागरण एफ.एम., रेडियो सुर्खेत एफ.एम. समेत रहेको छ । सञ्चार माध्यमको बिचमा भएको घटना कुनै पनि सञ्चारमाध्यमले प्रकाशन र प्रशारण नगर्नु एकदमै सोचनिय विषय रहेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतकै मातहतमा रहेको सिसिटिभी फुटेजमा ८ः४६ सम्म मृतक घटनास्थल वरपर सकुसल हिंडेको फुटेज देखिएको छ । बिचमा रहेको १ घण्टा १७ मिनेटमा कसैको ज्यानै जानेगरी भएको घटना अहिले सम्म रहस्यमैै सिमित रहेको छ । पोष्टमार्टम् रिपोर्टमा मृतकको टाउकोमा २ वटा गहिरो घाउ, दायाँ छातीको ४ वटा,बायाँ छातीको ३ वटा करङ्ग भाँचिएको, गर्धन्को हड्डी भाँचिएको, एउटा हात र खुट्टा भाँचिएको, मुटु फुटेर इन्टरनल व्लिडिङ्ग भएर मृत्यु भएको देखिएको छ । मृतकको शरिर भरी तल देखी माथीसम्म कतै जुत्ताको त कतै इट्टाको र कतै रड अथवा शरियाको निलडामहरु देखिएको थियो । घटनास्थलमा अतिथी होटलका म्यानेजर नेत्रलाल पाण्डेले आफ्नो काउण्टर अगाडीको शव पहिला नदेखी शटर बन्द गर्ने समयमा देखेको बताएका छन् र शव देख्ने बित्तिकै प्रहरीलाई फोन गरेको बताएका छन् भने प्रहरीका तर्फबाट भने इन्स्पेक्टर डिल्लीराज सापकोटाले हाम्रो घुमुवाले देखेर फोन गरेपछि आफु घटनास्थलमा आइनपुग्दै प्रदेश अस्पताल कालागाउँको एम्बुलेन्सलाई फोन गरेर बोलाएको र नजिकै रहेको अस्पतालबाट अहेवलाई डाकी सोही ठाउँमा अहेवले मृत घोषणा गरेको कुरा बताएका छन् ।

मेरो बुबा, मृतक चन्द्र प्रसाद आचार्य तत्कालिन नेपाल कम्यूनिष्ट पार्टि एमालेमा आवद्ध हुनुहुन्थ्यो । अहिलेको वर्तमान सत्तारुढ पार्टि नेकपाका आफ्नै कार्यकर्ताकोे यसरी हत्या हुँदा समेत पार्टिको तर्फबाट कुनै पनि पहल भएको भान भएको छैन । मृतकको शरिरमाथी घाटमै पार्टिको झण्डा ओडाएर उहाँको बारेमा व्याख्या र विश्लेषण गरी एउटा शव माथी राजनिति गर्ने स्थानिय नेताहरु समेत ११ दिन पछि एकपटक पनि न त पिडित परिवारलाई भेट्न नै जानु भयो न त जिल्ला प्रहरी कार्यालयमा फलोअपको लागी नै जानुभयो । आफ्नै दुई तिहाईको सरकार हुँदा समेत उहाँहरु आफ्नो पार्टिको कार्यकर्ता माथी भएको अन्यायका विरुद्ध २ शब्द बोल्नुहुन्न भने उहाँहरुबाट हामीले के न्यायको आश गर्ने?

पिडित परिवार न्यायको लागी भन्दै स्थानिय स्तर देखी केन्द्रसम्मका सम्पूर्ण सम्बन्धित निकायहरुका ढोका ढकढक्याउन पुगीसकेका छन् । तर पनि हालसम्म कसैले पनि केहि पहल गर्नुभएको छैन । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय जुम्ला, सुर्खेत जिल्लामा मानव अधिकारको लागी काम गर्ने संस्था इन्सेक, राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरु जहाँबाट न्यायको लागी २ शब्द राखिदिनुहुन्छ कि भन्ने आशाका केन्द्रविन्दुहरु सबै ठाउँका ढोका ढकढक्याउँदा समेत कसैले पिडितको कुराको सुनुवाई गर्नुभएन ।

यस घटनाको अनुसन्धानको क्रममा सुरुवाती चरणदेखी नै प्रहरी प्रशासनले त्रुटीपूर्ण तरिकाले अनुसन्धान गरेको देखिन्छ ।

अनुसन्धानमा भएका त्रुटिहरु :
१, प्रहरीले फाल्गुन १८ गते राती १०ः०३ मा शव फेला पारिसकेपछी परिवार तथा आफन्त कोही कसैलाई खबर नगरी आफ्नो मनोमानी तरिकाले शव उठाउनु ।

२, शवलाई १०ः०३ मा प्रहरीले फेला पारेको तर मृतकको पकेटमा भएको आफन्त महेन्द्र प्रसाद शर्माको सम्पर्क नम्वरमा रातको १ः३० बजे मात्रै सम्पर्क गर्नु ।

३, प्रहरीले मृतकको पकेटमा भएको पैसा शव उठाउने समयमानै फेला पार्नु तर सोही पकेटमा भएको सम्पर्क नम्वरको चिट राती १ः३० बजे मात्रै फेला पार्नु ।

४, बिहान ५ः०० बजे आफन्तहरु महेन्द्र प्रसाद शर्मा र मृतकको साला बलीराम अधिकारी सनाखत गर्न पुग्दा शव सिधै पोष्टमार्टम् गृहमा फेला पार्नु ।

५, घटनास्थलबाट शव प्रहरीलेनै उठाएको भएतापनि भोलिपल्ट मृतकको साला बलीराम अधिकारीले घटनास्थलमा छानबिनको लागी आउनुहोस् भनेर अनुरोध गरेपछि मात्रै इन्स्पेक्टर डिल्लीराज सापकोटाको टिम घटनास्थलमा जानु ।

६, घटनास्थलमा ५-६ थोपा मात्र रगत हुनु र वरीपरी कसैलाई पनि घटनाको बारेमा केहि जानकारी नहुनु ।

७, घटनास्थलमा अहेबको रोहबरमा मृत घोषणा गरिएको भनिएको छ तर ति २ जना अहेब को हुन् अहिलेसम्म पनि कोहि कसैलाई थाहा छैन ।

८, मेरो बुवाको शरिरलाई मृत घोषणा गरेको अस्पतालको र डाक्टरको प्रमाणपत्र देखाउनुहोस् भन्दा अहिलेसम्म पनि प्रहरीले पिडित समक्ष पेश गर्न नसक्नु ।

९, १८ गते राती १०ः०३ बजे शव फेला पारिसकेको भएपनि उक्त घटनाको मुचुल्का १९ गते बिहान ८ः०० बजे मात्रै उठाइएको तर पनि मुचुल्का उठाउने समयमा

१०, मृतकको परिवार र आफन्त कसैलाई पनि संलग्न नगरी सिमित व्यक्तिहरुको बिचमा मुचुल्का उठाउनु ।

११, अस्पतालमा पनि पिडीतका आफन्तहरुलाई प्रहरी प्रशासन र स्थानिय जनप्रतिनिधीहरुले पोष्टमार्टम्को लागी दवाब दिनु ।

१२, मृतकको परिवारको गैर हाजिरीमै पोष्टमार्टम् गर्नु ।

१३, प्रहरी इन्स्पेक्टर डिल्लीराज सापकोटाले घटना घटेको तेस्रो दिन पिडितको घरमा गई तपाईंहरु ढुक्क हुनुहोस् तपाईंहरु १३ दिनको काजक्रिया भित्रै हुंदा १४, हामी अपराधीलाई कानुुनी दायरामा ल्याउंछौं भनि प्रतिबद्धता गर्नु ।

१५, घटना घटेको तेस्रो साता डिल्लीराज सापकोटाको काठमाण्डौ सरुवा हुनु ।

१६, डिल्लीराज सापकोटाबाट अनुसन्धानको क्रममा त्रुटी भएकै हो अपराधीलाई प्रमाण लुकाउन र भाग्नको लागी रातभरीको समय दिनु, र पिडित परिवारले प्रश्न गर्न थालेपछि निजको सरुवा हुनु ।

१७, घटनास्थलका प्रत्यक्षदर्शी र पछि यस घटनाको अनुसन्धानमा खटिएका हरेक अनुसन्धान अधिकारी प्रहरीहरुले पिडित समक्ष फरक फरक कुरा पेश गर्नु ।

१८, मृतकको शरिरमा भएको कपडाहरु पिडित परिवारले ५ औं दिनको दिन कहां छ भनेर खोजी गर्दा हामीलाई थाहा भएन भनेर गैरजिम्मेवार पूर्ण जवाफ दिनु ।

१९, पिडित परिवारले शंका लागेका व्यक्तिहरु घटनास्थल नजिकैका अतिथि होटलका संचालक गोविन्द पाण्डे, व्यवस्थापक नेत्रलाल पाण्डे र कुक यामलाल

२०, गौतम माथी र अन्य व्यक्तिहरु माथी समेत गम्भिर तरिकाले अनुसन्धान नगरी सामान्य सोधपुछ गर्दै छोड्दै गर्नु ।

२१, पोष्टमार्टम् रिपोर्ट घटना घटेको ३७ औं दिनको दिनसम्म पनि परिवारलाई देखाउन नमान्नु ।

२२, पिडित परिवारले प्रहरीले कमजोरी ग¥यो भनेर भन्दा इन्स्पेक्टर निरञ्जन घिमिरेले तपाईंहरुले हामी माथी शंका गर्नुहुन्छ भने तपाईंहरुको केस यत्तिकै सेलाउन पनि सक्छ भनी धम्कीपूर्ण कुरा पेश गर्नु ।

२३, विधी विज्ञान प्रयोगशाला सामाखुशीमा पठाएका अतिथी होटलमा भेटिएको प्रमाणहरु रगत जस्तो वस्तुले लतपतिएको टावेल, काउण्टरमा लागेको रगत र २४, भित्तामा भेटिएको रगतको ल्याव टेष्टको लागी पिडित परिवारले पहल नगर्दा सम्म जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट कुनै पहल नगरिनु र हालसम्म पनि उक्त रिपोर्ट पिडित परिवार समक्ष पेश गर्न नसक्नु ।

२५, घटनास्थल अतिथी होटलका म्यानेजर नेत्रलाल पाण्डे (फस्ट आई विट्नेस) भएता पनि प्रहरीले हामीलेनै भेटेको भनेर दावी गर्नु र निज नेत्रलाल पाण्डे माथी सामान्य अनुसन्धान गरी छाड्नु ।

२६, एउटा सामान्य घटनाको बारेमा समेत सञ्चारमाध्यमलाई खबर गर्ने प्रहरीले त्यती ठूलो घटना प्रदेश राजधानीको बिच बजारमा हुंदा समेत सञ्चारमाध्यमलाई खबर नगर्नु ।

२७, पिडित परिवारले शंकास्पद व्यक्तिमाथी किटानी जाहेरी दिन्छौं भन्दा डिल्लीराज सापकोटा र प्रदिप कुमार क्षेत्री ले तपाईंहरुले किटानी दिनु भयो भने हामी ती व्यक्तिहरुलाई केही समयको लागी थुनीदिन्छौं अनि तपाईंहरुको केस सकिन्छ र ती व्यक्तिहरु यदी दोषी सावित नभएमा तपाईंहरुले उनीहरुलाई क्षतिपूर्ति समेत तिर्नुपर्ने हुन्छ भनी पिडित परिवारलाई त्रास देखाउनु र किटानी जाहेरी लिन नमान्नु ।

न्यायका रक्षक प्रहरीहरुबाटै यस घटनामा अपराधीलाई उन्मक्ती दिने र प्रमाण लुकाउने वाताबरण बनाइएको प्रशस्तै आधारहरु हामीले भेटेका छौं । बिशेष गरी अतिथि होटल र त्यहां नजिक रहेका बाँसपानी होटल, एभरेष्ट होटल र अतिथि होटल संगै रहेको खाजा पसल (टहरा) माथी हामी पिडित परिवारको आशंका रहेको छ । फेरी पनि हामीले न्यायको आशा राख्ने एकमात्र ठाउँ प्रहरी प्रशासननै हो । हामी प्रहरी प्रशासनबाट हाम्रो केश जति सक्दो छिटो समाधान गरि हामी पिडितको अनुहारमा थोरै भएपनि न्यायको अनुभूति र हाम्रो गुमेको अभिभावकको आत्मालाई शान्ति दिई दोषीलाई कानुनि दायरामा ल्याई हदै सम्मको कारवाहीको भागेदार बनाइयोस् भन्ने हाम्रो माग हो ।

अन्त्यमा हामी पनि यहि कानुनी राज्यका नागरिक हौं भन्ने कुराको आभाष दिलाउनको लागी र पिडित परिवारलाई जति सक्दो छिटो न्याय र अपराधीलाई कानुनी दायरामा ल्याई हदै सम्मको कारवाहीको भागेदार बनाउनको लागी स्थानिय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार, प्रहरी प्रशासन, सञ्चारमाध्यम, राजनैतिक दल, मानव अधिकारवादी संघ संस्थाहरु सबैले आ–आफ्नो ठाउंबाट जसले जसरी हुन्छ त्यसरी नै पहल गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।
पिडित परिवार

प्रतिक्रिया