बूढीगङ्गा नदी नियन्त्रण

admin

इटहरी, १ पुस : इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्ष बालकृष्ण विष्टले जानकारी दिनुभयो । प्रत्येक वर्ष इटहरी उपमहानगरपालिका–३ शान्तिनगरी क्षेत्रको बस्ती र उर्वर जमीन कटानको चपेटालाई रोकथाम गर्नका लागि नदीको पश्चिमी क्षेत्रमा तटबन्ध निर्माण गर्ने कार्य पूरा भएको पनि वडाध्यक्ष विष्टले जानकारी दिनुभयो ।

यसैगरी उपमहानगरपालिका–३ जाने वडा नं ४ देखि उत्तर एक किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि पूरा भएको छ । ढलसहितको उक्त पर्यटकीयस्थल तालतलैया जाने सडक निर्माणका लागि करीब रु ६० लाख खर्च भएको छ । त्यसैगरी युकी चाउचाउ क्षेत्रमा पर्ने ५०० मिटर सडक पनि रु ४० लाखको लागतमा निर्माण पूरा भएको पनि वडाध्यक्ष विष्टले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया