बेमौसममा भारतीय पर्यटकको भर

रिता घिसिंग

काठमाडौँ : तेस्रो मुलुकका पर्यटक कम आउने यो मौसममा भारतीय पर्यटकले धानेको छ । भारतमा उच्च गर्मी हुनु र भर्खर निर्वाचन सकिनुले पनि यहाँ भारतीय पर्यटकको आगमन बढेको हो ।

व्यवसायीका अनुसार अहिले यहाँका पर्यटकीय क्षेत्रमा अधिकांश पर्यटक भारतीय छन् । त्यसका अतिरिक्त चिनियाँ र आन्तरिक पर्यटक छन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा क्षेत्रमा यतिबेला न्यून पर्यटक छन् । तीमध्ये अधिकांश भारतीय हुन् ।

भारतको सीमाक्षेत्रका प्रमुख शहरसँगै कोलकाता, लखनऊ, कानपुर, पटना, गुजरात, दिल्लीलगायतका क्षेत्रबाट बढी पर्यटक आउने गरेको उहाँले बताउनुभयो । नेपाली सीमाक्षेत्रका बजारमा बसेर भोलिपल्ट दिउँसो यहाँ आइपुग्ने गरी भारतीय पर्यटक आउने गरेका छन् ।

उनीहरुले यहाँ रहँदा चितवन राष्ट्रिय निकुञ्जलगायत यस क्षेत्रका धार्मिक पर्यटकीय गन्तव्यमा रमाउने गर्दछन् । पवित्र तीर्थस्थल देवघाट, त्रिवेणीधाम, शाश्वतधामलगायतका धार्मिकस्थलमा भारतीय जाने गरेका छन् । घिमिरेले दैनिक ६०० हाराहारीमा पर्यटक आएको बताउनुभयो । मेको अन्तिम सातादेखि अगस्तसम्म पर्यटक कम आउने गर्दछन् ।

सौराहाको सेभेनस्टार र होटल वेष्टउड सञ्चालन गर्दै आउनुभएका माधव दुवाडीले अहिलेको बुकिङको अधिकांश पर्यटक भारतीय रहेको बताउनुभयो । उहाँका अनुसार बेमौसमको समयमा भारतीय पर्यटकले होटलको खर्च धान्न सहयोग पुग्छ । यो मौसममा भारतीयसँगै चिनियाँ र स्वदेशी पर्यटक हुने गर्दछन् ।

पोखरा र चितवनको मेघौलीमा होटल बाराही सञ्चालन गर्दै आउनुभएका पर्यटन बोर्डका सदस्य विप्लव पौडेल आफैँले गाडी चलाएर आउने भारतीय धेरै रहेको बताउनुहुन्छ । धार्मिक यात्रामा समेत भारतीय आउने गरेको उहाँले बताउनुभयो ।

सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ ११० होटलमा पाँच हजार ५०० कोठा छन् । सौराहाका अलवा चितवनमा भरतपुर, जगतपुर, पटिहानी र मेघौलीमा पनि पर्यटकीय होटल छन् । रासस

प्रतिक्रिया