बेलायतमा ‘हाईक फर नेपाल’ भव्य रुपमा सम्पन्न

शर्मिला गुरुङ

-सुधा गुरुङ

ब्रेकन, नेपाल भ्रमण बर्ष २०२० प्रबर्द्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा अगस्ट को २ देखि ४ तारीख सम्म ३ दिने क्याम्पिङ्ग र हाईक फर नेपाल (लामो दुरीको पैदल यात्रा) सफलताका साथ सम्पन्न भएको छ। पोखरेली मंच यू के र वी विल राइज फाउन्डेशनको स्यूक्त आयोजनामा आयोजित हाईक फर नेपालको सो कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई करिव चार घण्टा नेपालमय बनायो ।

बेलायत भरी बाट सहभागी हुन आएका विभिन्न उमेर समुहका करीब ३०० जना पैदल यात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा बडो उत्साह र उमंगका साथ पुरा गरे। जसमा कान्छो उमेर ४ बर्ष देखि थुप्रै स्वदेशी तथा बिदेशी सिनिएर सिटिजनको पनि उपस्थिती थियो।

 

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् ।

आयोजना स्थलमा नेपालको मानचित्र, शान्तीका अग्रदूत भगवान गौतम बुद्धको आकृती र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर, धरहराको निर्माण गरी विश्व शान्तीका लागी दीप प्रज्वलन समेत गरिएको थियो ।

भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृति सँगै नेपालकै पहिचान बनेको उक्त धरहरा यथासक्य छिटो निर्माण सम्पन्न गरियोस भन्ने सन्देश स्वरुप सोको प्रतिमूर्ती बनाइएको कुरा पोखरेली मंचका अध्यक्ष मानप्रसाद गुरुङ्गले बताए। आयोजना स्थललाई नेपालमय बनाउन र सो सन्देश दिन करीब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ्ग आफैले निर्माण गरेका थिए।

कार्यक्रममा मुख्य अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।

नेपालका लागि सँगसँगै पाईला चालौं भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतु वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो ।

बिदेश बसेता पनि नेपाल प्रती हरेक नेपालीले आफ्नो देशको लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने खालका यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने जनाउँदै हंगकग्ंबाट सहभागिता जनाउन आएका फाउण्डेसनका संस्थापक तुलसी गुरुङले सबैलाई आआफ्नो स्थानबाट मुलुकका लागी सकेको पहल गर्न अनुरोध गरे ।

गत बर्ष १५० जतिको सहभागिता रहेको हाइक फर नेपालमा यस पटक आयोजकले ३०० जति सहभागीको अपेक्षा गरे अनुरुप ठ्याक्कै दोब्बरकै संख्यामा सहभागीता बढ्नु एकदमै सकरात्मक पक्ष रहेको र कार्यक्रम बेलायत बासी माझ लोकप्रीय बन्दै गएको ज्वलन्त उदाहरण हो भन्ने कुरा सो क्याम्पेनका लागि अहोरात्र खटिएका संयोजक मेजर गुरुङ्गले बताए। आगामी बर्षहरुमा यसलाई अझ बृहत र थप ब्यवस्थित बनाउदै लैजाने उनले बताए।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व रय सौर्हदता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।

कार्यक्रममा अन्य स्थानीय विशेष अतिथीहरुमा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ्ग कमिटी यू के का अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्बोच्च शीखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस, एन आर एन यू के उपाध्यक्ष श्रीमती पूनम गुरुङ्ग, मिस्टर यू के नेपाल मनन गुरुङ्ग थिए।

आयोजनास्थल सुन्दर शहर ब्रेकन र धम्पुस बीच हालै मात्र गत फेब्रुअरीमा मुख्य संयोजक मेजर गुरुङ्गको पहलमा मितेरी साईनो पनि गाँसिएकोले ब्रेकन बासीको नेपाल प्रती थप चासो र माया बढेको छ।

ब्यस्त बेलायती जीवन शैलीबाट केही दिन सापट लिएर ३ दिने क्याम्पिङ्ग र हाईकिङ्गमा बेलायत भरीबाट आएका सहभागीहरुले भरपूर आनन्द उठाएको कुरा सहभागीहरुले बताए। शहरको कोलाहलबाट दूर, काम को टेंशनबाट मुक्त शान्त, सुन्दर मनोरम डाडा काडांले घेरिएको ब्रेकनको लोङ्गघार्स डाडां चढ्दा अधिकांशलाई गांऊघरको तिर्सना केही हद सम्म मेटिएको आभास भएको बताए भने नयां पिढीका यूवा बर्ग र बालबालिका हरुलाई कम्तीमा बर्षको एक चोटि स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको कुरा बताए, जुन एकदमै सकरात्मक पक्ष हो र भिजिट नेपालको उद्देश्य पनि यहिं हो।

हाईकिङ्ग पश्चात ब्रेकन हाई स्कूलमा रात्रीभोज र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू