बोको हरामको धराप विस्फोटमा २३ सैनिकको मृत्यु

admin

एनजामेना, चाड, ८ चैत: बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् । बिहीबार राति भएको धराप विस्फोट र दोहोरो झडपका घटनामा २३ जना सैनिकको मृत्यु भएको र अन्य केही घाइते भएका अफ्रिकी मुलुक चाडको सैनिक स्रोतले उल्लेख गरेको छ ।

शुक्रबार चाडको सैनिक अधिकारीलाई उद्धृत गरी अल्विदा इन्फमेसनको वेभसाइटमा दिइएको सूचनामा धराप विस्फोटबाट २३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । स्रोतका अनुसार इस्लामिक जिहादीहरूको नाइजेरियामा सक्रिय समूह बोको हरामका लडाकूले रातिको समय सीमापार गरी चाडमा आई सीमा क्षेत्रमा रहेको तालको दाङदाला नजिकै विस्फोट गराउँदा गस्तीमा रहेका सैनिक अधिकारीको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उक्त स्थानमा भएका दोहोरो भीडन्तमा केही बोको हराम लडाकूको पनि मृत्यु भएको जनाइएको छ । यसबारे बोको हराम समूहको आधिकारिक भनाई आइसकेको छैन ।
-रासस

प्रतिक्रिया