ब्रिसबेनमा ‘कबड्डी कबड्डी कबड्डी’ को रौनक, पाचौँ पटक प्रदर्शन हुँदै

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। चलचित्र कबड्डीको तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ नेपालको सफल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि रेकर्ड ब्रेक गर्न सफल भएको छ । उक्त बहुप्रतिक्षित चलचित्र सेप्टेम्बर २० तारिकको दिन ब्रिसबेनको बिसिसी सिनेमामा प्रदर्शन गरिएको थियो। एक्स्पर्ट एजुकेसन याण्ड भिसा सर्भिसेसको सहकार्यमा रिलिज भएको यस चलचित्र एकैसाथ तिनवटा हलमा प्रदर्शन गरिएको थियो।

टोम्बुलमा एकैसाथ तिनवटा हल बुक गरि प्रदर्शन भएको अस्ट्रेलियामा नै यो पहिलो रेकर्ड हो। त्यतिमात्र नभएर दर्शकको भिड र मागका कारण चलचित्र पाचौ पटक प्रदर्शन गरिने भएको छ। कामविशेष वा अन्य कारणले चलचित्र हेर्न छुटाएका दर्शकको लागि टोम्बुलको बिसिस हलमा नै अक्टोबर १ तारिकमा पुन: एक पटक प्रदर्शन गरिने भएको हो।

एक चोटी चलचित्र हेरिसकेका दर्शकले अत्यन्त्यै मन परेकोले दोराएर समेत हेरेको प्रतिक्रिया दिएका छन्। ब्रिस्बेनमा चार पटक सम्म प्रदर्शन गरिएको यस चलचित्र प्रत्यक प्रदर्शनमा हाउसफुल भएको बताइएको छ। चलचित्रलाई यस वर्षकै बहुप्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो। अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको साथ, सपोर्ट र माया पाइरहेको छ।

रामबाबु गुरूङ्गद्वारा निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ नायकका दयाहाङ राइ नै रहेका छन् भने नायिकाका रुपमा उपासना सिंह ठकुरीलाई देख्न पाईने छ । नायक कर्मा, बुद्धि तामाङ, विल्सन विक्रम राई, बिजय वराल लगायतका कलाकार मुख्य भुमिकामा देखिएको यस चलचित्रलाई निर्देशक रामबाबु गुरूङ्ग र लेखक उपेन्द्र सुब्बाले लेखेका हुन् ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओम रौनियार निर्माता रहेको चलचित्र बाँसुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्यमा निर्माण भएको हो । स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धलाई कलात्मक शैलीमा सशक्त रुपमा उठान गरिएको चलचित्रमा काजी र सोल्टीनीको प्रेम प्रशंगलाई पुन दोहोर्याईएको भएपनि चलचित्रको कथाबस्तुमा फरक पन रहेको चलचित्र युनिटले बताउँदै आएको छ । यो पटक सोल्टीनीको रुपमा उपासना सिंह ठकुरी रहेकी छन् ।

प्रतिक्रिया