भक्कानिएर रुँदै निर्मलाकी आमा भन्छिन्,’निर्मलाको हत्यारालाई नपुंषक बनाएर जेलमा कोच्नुपर्छ।’ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। निर्मला पन्तकि आमा दुर्गा पन्तलाई अहिले पनि छोरीहरूसँगको त्यो अन्तिम खानाको झझल्को आइरहन्छ। उनलाई त्यस दिन बिहानै बनबासा जानु थियो। हतार-हतार गुन्द्रुकको झोल र भात पकाएकी थिइन्। तीनवटी छोरीलाई वरिपरि राखेर खान दिएकी थिइन्।

छोरीहरूको स्कुलमा बर्खे विदा थियो। उनीहरूलाई कापी-किताब किन्दिन दुई-चार पैसा कमाउने बेला यही थियो। निर्मलाले अघिपछि चलाउने पानीपुरी/चटपटे पसलको आम्दानीले गुजारा चल्ने अवस्था थिएन। गुन्द्रुकको झोलसँग भात खाइवरी ठूली छोरी ट्युसन पढ्न हिँडिन्। निर्मला र कान्छी छोरीलाई चटपटे पसल कुर्न लगाएर दुर्गा गाउँले साथीसँग बनबासा लागिन्।

दिउँसो एक बजे फर्कंदा निर्मला थिइनन्। रोशनी बम भन्ने साथीको घर गएकी रहिछन्। साँझसम्म नफर्केपछि दुर्गा छोरी खोज्न निस्किन्। यो साउन १० गतेको घटना हो। त्यो दिन निर्मलाको अत्तोपत्तो लागेन। उनी रातभरि छोरी कुरेरै बसिन्। भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा घरबाट आधा घन्टा पैदलदुरीको उखुबारीमा भेटिइन्।

‘निर्मला उतिसारो अर्काको घर जाने स्वभावको थिइन। गए पनि मलाई सोधेर मात्र जान्थी। नजा भने जान्नथी,’ दुर्गाले छोरीको सम्झना गर्दै भनिन्, ‘त्यो दिन भने सोध्दा पनि सोधिन। गएपछि फर्कंदा पनि फर्किन।’ निर्मला र उनकी दुई जना दिदीबहिनीको निम्ति आमा दुर्गा नै एक मात्र सहारा थिइन्।

दुर्गाले कहिले चटपट र पानीपुरी बेचेर त कहिले अर्काको खेतबारीमा काम गरेर छोरीहरू पाल्दै आएकी थिइन्। त्यसदिन बिहानै बनबासा जानुको कारण पनि पारिबाट सरसामान किनेर यता बेचुँला भनेरै हो।

पति बिरामी भएदेखि छोरी पढाउने र पाल्ने जिम्मा उनकै काँधमा आएको थियो। त्यसैले उनी भारतबाट साइकलमा सामान ल्याएर वारि बेच्ने काम गर्थिन्। कामबाट आएको पैसाले नानीहरूलाई कापीकलम र बिहानबेलुकाको सागसब्जी आउँथ्यो।

पढेर ठूलो भएपछि नर्स बन्ने हो भन्थिन् निर्मला! ‘नर्स बनाउन सक्छु/सक्दिन तर राम्रो मान्छेसँग बिहे गरिदिन पाए आफ्नो धर्म पूरा हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘अब चाहिँ उनका हत्याराहरूलाई सजाय दिलाउन पाए बल्ल मेरो धर्म पूरा हुन्छ भन्ने लाग्या छ।’

आफूले जतन गरेर पालेकी छोरीलाई बाँच्न नदिनेहरू खुल्लमखुला हिँड्न पाउनु भनेको अरू छोरीहरूको दिन गन्ती सुरू हुनु हो भन्ने सम्झेर झन् उनको मन पोल्छ। जब छोरीको हत्या र उनले न्याय नपाएको कुरा गर्नुपर्छ उनका आँखा कठोर हुन्छन्। शायद मुटुमा गाँठो पारेर उनी बोल्छिन्। जब छोरीको पढाइ र सपनाका कुरा गर्छिन् उनका आँखा भरिँदै आउँछन्।

आज १०० दिन भन्दा बढी भइसक्दा पनि निर्मलाले न्याय पाउने कुरामा कुनै छाटकाट देखिन्न। छोरीको न्यायको लागि अनशन बसेकी उनी भन्छिन् , ‘अब त न्यायको निम्ति लडिरहन्छु। बाँचुञ्जेल लड्नुपरे पनि लड्छु। निर्मलाको हत्यारालाई नपुंषक बनाएर जेलमा कोच्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू