घुम्ती शिविरमार्फत चेपाङ गाउँमा सरकारी सेवा

मनिषा थापा

भरतपुर, ११ फागुन (रासस) : चितवनको पहाडी चेपाङ बाहुल्य गाउँमा एकीकृत घुम्ती शिविरमार्फत सरकारी सेवा तथा सुविधा उपलब्ध गराइएको छ । चितवन जिल्ला प्रशासन कार्यालयले इच्छाकामना गाउँपालिकासँगको समन्वयमा वडा नं–१ भाराङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा सो शिविर सञ्चालन गरेको हो ।

भौगोलिक विकटताका कारण सरकारी सेवा र सुविधाबाट बञ्चित नागरिकको सुविधाका लागि शिविर आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताउनुभयो । घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जनस्वास्थ्य, कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुरोगविज्ञ केन्द्र, जिल्ला निर्वाचन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयले सेवा प्रदान गरेका छन् ।

स्वास्थ्य शिविर, जन्मदर्ता, मतदाता फाटोसहितको नामावली सङ्कलनका साथै नागरिकताको प्रमाणपत्र, कृषि बीउ, पशु औषधि वितरण र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयोे ।

उक्त गाँउपालिका प्रमुख गीता गुरुङ र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रबार शिविर शुभारम्भ गर्नुभएको थियो । पचहत्तर वर्षको उमेरमा नागरिकता प्राप्त गरेपछि स्थानीय चिनीमाया प्रजा खुशी हुनुभयो । यसअघि जिल्ला सदरमुकाम पुग्न नसकेकाले नागरिकता लिन नसक्नुभएको उहाँले गाउँमै घुम्ती शिविर आउँदा नागरिकता लिन पाएकामा धेरै खुशी लागेको र अब वृद्धभत्ता पनि पाइने आशा व्यक्त गर्नुभयो । घुम्ती शिविरमार्फत सेवा पाउँदा स्थानीयवासी हर्षित थिए ।

राज्यको सेवा जिल्लाको दुर्गम क्षेत्रका जनताको घरदैलोमा पु¥याउने उद्देश्यले सो शिविर सञ्चालन गरिएको प्रजिअ बस्नेतले बताउनुभयो । “राज्यको सेवा तथा सुविधा प्राप्त गर्न पाउनु हरेक नागरिकको अधिकारको कुरा हो, उहाँले भन्नुभयो, हरेक क्षेत्रबाट पछि परेका चेपाङ समुदायको घरआँगनमा सेवा प्रवाह गर्न पाउँदा खुशी लागेको छ ।” गाउँमै सेवा प्रदान गर्दा गरीब जनताको खर्च र समय बचत हुने उहाँको भनाइ थियो । अहिलेसम्म भइरहेका सेवाप्रति जनताको गुनासो, खबरदारी रायसल्लाह र परामर्श लिनका लागि सार्वजनिक सुनुवाइसमेत गरिएको प्रजिअ बस्नेतले बताउनुभयो ।

अध्यक्ष गुरुङले चेपाङ बाहुल्य क्षेत्रका धेरै महिला र वृद्धवृद्धा नागरिकताबाट बञ्चित भएकाले गाउँमै घुम्ती सेवा सञ्चालन गरिएको उल्लेख गर्नुभयो । “अर्थिक अभाव, शैक्षिक चेतना र भौगोलिक बनावटका कारणले यहाँका नागरिकले सेवा प्राप्त गर्न सकेका थिएनन्”, उहाँले भन्नुभयो, “गाँउपालिकाले पहिलो
प्राथमिकतामा चेपाङ समुदायलाई राखेर काम गरेको र तत्कालका लागि तिनको जीवनस्तर परिवर्तन गर्न, कृषि तथा पशुपालनका कार्यक्रम सञ्चालन गरिएको छ ।”

शिविरमा घन्टौ हिँडेर चेपाङ समुदायका नागरिक सेवा लिन आएका थिए । शिविर सञ्चालन भएको इच्छाकामना गाउँपालिकाको वडा नं १ मा चेपाङ समुदायका ९० प्रतिशत नागरिकको बसोबास रहेको सो वडामा करीब एक हजार ६०० जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । शिविरमा विभिन्न कार्यालयका ७० कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया