भलिबलमा नौकुण्ड प्रथम

शर्मिला गुरुङ

रसुवा, ३ फागुन : ल्होछार पर्व अन्तर्गत उत्तरी रसुवाको थाम्वुचेतमा आयोजित भलिबल तथा अन्य विविध सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

नेपाल तामाङ घेदुङ सङ्घ आमा छोदिङ्मो गाउँपालिकास्तरीय भलिबल खेलमा नौकुण्ड युवा सोसाइटी सरसिउ प्रथम, रसिभुमे युवाकल्ब चित्तीभोर्ले द्वितीय र धुञ्चे समूह तृतीय भएको थियो ।

भलिबल खेलका विजेता समूहमध्ये प्रथमलाई रु ४२ हजार पाँचसय, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कारस्वरूप नगद तथा कप प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष फुर्पु तमाङले बताउनुभयो ।

जिल्लास्तरीय खुल्ला भलिबल खेलमा ११ समूहले भाग लिएका थिए । पुस २८ गतेबाट शुरू भएको ल्होछार पर्वका विविध कार्यक्रम बिहीबार समापन भएको तामाङ घेदुङ सङ्घ आमाछोदिङ्मो गाउँपालिकास्तरीय महिला सदस्य सुजिता तामाङले जानकारी दिनुभयो ।

‘सम्पूर्ण तामाङ एक हौं’ भन्ने नाराका साथ सम्पन्न २८५५आँै सोनाम तथा ग्याल्पो ल्होछार पर्व अन्तर्गत सञ्चालित भलिबल एवं रमाइलो साझ कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन आचार्य र प्रदेश नं– ३ का सदस्य प्रेम तामाङको सहभागिता रहेको थियो ।

आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षणका लागि गाउँ समाजमा जागरण ल्याउन तामाङ घेदुङ सङ्घले गरेको यस्ता विविध कार्यक्रमले युवापिँढी माझ जागरण बढेको सांसद आचार्यले बताउनुभयो ।
कार्यक्रममा सांसद आचार्य, नेपाल केरूङ चीन व्यापार संघका अध्यक्ष मान वहादुर तमाङ , निर्माण व्यवसायी एवं समाजसेवी छेसिङ्गी तमाङ,निर्माणाधिन साञ्जेन जलबिधुत र जलबिधुत अन्तरगत निर्माणमा संलग्न विभिन्न कम्पनी, चिलिमे जल विधुत केन्द्र समेतलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया