भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर

शर्मिला गुरुङ

याङ्गुन, २६ मङ्सिर (रासस÷सिन्ह्वा) : म्यान्मारका राष्ट्रपति यू विन मिन्तले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको म्यान्मार भ्रमणले यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगेको बताउनुभएको छ ।

हाल म्यान्मार भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति कोविन्दको सम्मानमा दिएको रात्रिभोजमा म्यान्मारका राष्ट्रपति मिन्तले भारतका तर्फबाट भएको यो पछिल्लो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सावित भएको धारणा राख्नुभएको थियो ।

रात्रिभोजमा बोल्दै म्यान्मारका राष्ट्रपति मिन्तले भन्नुभयो, भारतले म्यान्मारसँगको सम्बन्धका लागि दिएको महत्वको हामी उच्च प्रसंशा गर्दछौँ ।

म्यान्मार भारतको एक असल छिमेकी देश भएको भन्दै म्यान्मारका राष्ट्रपति मिन्तले यी दुई देशको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताउनुभयो । आगामी दिनमा एसियाली क्षेत्रको शान्ति, समृद्धि र स्थायित्वका लागि म्यान्मारले भारतसँग सम्बन्ध गाँसेर काम गर्न चाहेको उहाँले धारणा राख्नुभयो ।

भारतीय राष्ट्रपति कोविन्दले शान्तिप्रक्रिया, राष्ट्रिय सहमतिको निर्माणका साथै आर्थिक सुधारका क्षेत्रमा म्यान्मारले पछिल्ला समयमा प्रगति गरिरहेकोमा म्यान्मारको प्रशंसा गर्नुभयो ।

उहाँले समग्र भारतीय जनता म्यान्मारको शान्ति, समृद्धि र स्थायित्वका पक्षमा उभिएका छन् भन्नुभयो । एक असल छिमेकका रुपमा भारतले म्यान्मारको सम्बन्धलाई सदैव महत्वका साथ हेरिरहेको धारणा पनि भारतीय राष्ट्रपति कोविन्दले राख्नुभयो ।

भारतीय राष्ट्रपति कोविन्द हाल म्यान्मारको पाँच दिने औपचारिक भ्रमणका क्रममा हुनुहुन्छ । उहाँ आगामी शुक्रबार स्वदेश फर्किनुहुनेछ । गएको करिब एक दशकपछि भारतीय उच्च नेताका रुपमा उहाँको यो नै पहिलो भ्रमण हो । रासस

प्रतिक्रिया