भुपिनको ‘मैदारो’ लोकार्पण

admin

बलेवा, १३ वैशाख : चर्चित कवि भूपेन्द्र खड्का ‘भुपिन’को उपन्यास ‘मैदारो’को आज गृहजिल्ला बागलुङ सदरमुकाममा लोकार्पण गरिएको छ । धौलागिरि कला तथा साहित्य मञ्च, बागलुङले आयोजना गरेको एक समारोहमा उपन्यास लोकापर्ण गरिएको मञ्चका कार्यवाहक अध्यक्ष सिर्जना कार्कीले जानकारी दिनुभयो ।

समसामयिक विषयवस्तुमा तयार पारिएको उपन्यास ‘बुक्सहिल’ प्रकाशन प्रालिले प्रकाशन गरेको हो । बलेवामा जन्मिनुभएका कवि भूपिनले बलेवा क्षेत्रमा प्रचलित मैदारो प्रथालाई विषयवस्तु बनाएर उपन्यास लेख्नुभएको हो । बलेवामा रहेको दम्कको फाँटमा वर्षात्को समयमा रोपाइँ गर्दा सबै जग्गा धनीले एकैपटक गर्नुपर्ने र यदि कोही कसैले ढिला वा छिटो गरेमा मैदारो पर्छ भन्ने प्रचलन रहेको छ ।

समाजिक मान्यता र परम्परामा आधारित विषयवस्तुमा उपन्यास तयार गरिएको उहाँले बताउनुभयो । यसअघि भुपिनका ‘क्षतिग्रस्त पृथ्वी’ र ‘मूल सडक’ कविता सङ्ग्रह, ‘शब्दको नेपथ्यमा’ संयुक्त कविता सङ्ग्रह, ‘हजार वर्षको निद्रा’ कविता सङ्ग्रह, ‘चौबिस रिल’ निबन्ध सङ्ग्रह र ‘सुप्लाको हवाइजहाज’ कविता सङ्ग्रह प्रकाशनमा रहेका छन् । कैयौँ फुटकर कविता र निबन्ध लेखेका भुपिनले पछिल्लो समय उपन्यास विधामा कलम चलाउनु शुरु गर्नुभएको हो । उहाँको उपन्यासमा समाज परिवर्तनको दम रहेको प्राज्ञ प्रेम छोटा बताउनुहुन्छ ।
-रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू