भूमध्यसागरमा ४५ जना आप्रवासी डुबेकाे आशंका

शर्मिला गुरुङ

राबात, मोरक्को, १ चैत (रासस/एपी) : डुङ्गा चढेर भूमध्यसागर पार गरेर स्पेनतर्फ जान लागेका ४५ जना आप्रवासीहरुको डुबेर मृत्यु भएको एउटा स्पेनी मानव अधिकारवादी संस्थाले जनाएको छ । मोरक्कोका अधिकारीहरुले समुद्रबाट कम्तीमा २१ जना अरु अलपत्र आप्रवासीलाई उद्धार गरिएको जनाएका छन् ।

आप्रवासीका लागि मानवीय सेवामा सक्रिय संस्था वाकिङ् बोर्डर्सका हेलेना मालेनोले डुङ्गा दुर्घटनाबाट बाँच्न सफल सात जना महिलाको भनाई उद्धृत गर्दैै मारिएका व्यक्तिका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो । मारिनेमा गर्भवती महिला समेत रहेका छन् ।

“बाँच्न सफल भएकाहरुले डुङ्गामा झण्डै १३ जना महिला रहेको मलाई बताए । तीमध्ये अधिकांश गर्भवती थिए,” मालेनोले फोनमा बताउनुभयो । “डुङ्गामा १२ देखि १४ वर्ष हाराहारीकी एक बालिका पनि थिइन् । ती बालिकाको पनि मृत्यु भयो ।”

उक्त सूचनालाई मोरक्को सरकारले पुष्टी गरिसकेको छैन । एकजना मोरक्कोका अधिकारीले बिहीबार कम्तीमा २१ जना आप्रवासीलाई उद्धार गरिएको बताएका छन् । एकजनाको शव फेला परेको छ, उनले बताए ।

डुङ्गामा सवार सबै व्यक्ति उप–सहारा क्षेत्रका थिए । स्पेनी उद्धार सेवाले खोजी तथा उद्धारका लागि मोरक्को सरकारको सहयोग समेत मागेको जनाएको छ ।

मालेनोले डुङ्गामा रहेका व्यक्तिसँग फोनमा अन्तिमसम्म सम्पर्क भइरहेको बताउनुभयो । डुङ्गामा सवार व्यक्तिहरुले आफ्नो रबरको डुङ्गामा पानी भरिएको र डुब्नै लागेको मालेनोलाई बताएका थिए । मालेनोले भन्नुभयो – अन्तिम पटक सम्पर्क हुँदा डुङ्गामा मानिसहरु आत्तिएर चिच्याइरहेको सुनिएको थियो ।

स्पेनी खोजी तथा उद्धार सेवाले डुङ्गा डुबेको सम्भावित स्थान वरपर हवाई गस्ती गरेको जनाएको छ ।

युरोपेली युनियनका अनुसार, स्पेनको बाटो हुँदै धेरै आप्रवासी युरोप प्रवेश गर्दछन् । गत वर्ष ५७ हजार भन्दा बढी व्यक्ति स्पेन हुँदै युरोप छिरेका थिए । यी अधिकांश व्यक्ति मोरक्को हुँदै भूमध्यसागरको कठिन यात्रा गरेर स्पेन पुग्छन् ।

गत वर्ष भूमध्यसागर पार गर्नेक्रममा डुङ्गा दुर्घटना हुँदा करिब दुई हजार ३०० व्यक्तिको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया