भ्रष्टाचार देश विकासको लागि प्रमुख बाधक : नेता पौडेल

admin

पोखरा, ३२ जेठ : नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताउनुभएको छ । शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा आज यहाँ आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उहाँले भ्रष्टाचारको अन्त्यविना विकास सम्भव नभएको विचार व्यक्त गर्नुभयो ।

भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै उहाँले केही नेताका कारण राजनीति गर्ने नेताप्रति पनि जनताको असन्तुष्टि बढेको धारणा राख्नुभयो । पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारी जोसुकै भए पनि छाड्न नहुने बताउँदै पछिल्लो समयमा भ्रष्टाचार दिनानुदिन मौलाउँदै गएको छ भन्नुभयो ।


शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले भ्रष्टाचारकै कारण धनी र गरीबबीचको खाडल बढ्दै गएको बताउँदै यसको न्यूनीकरणमा जनता नै सजग बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस

प्रतिक्रिया