भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार गर्नेलाई धमाधम गिरफ्तार गरिएको छ : प्रधानमन्त्री ओली

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गर्नुभयो । सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै उहाँले विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो ।

“ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो, तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्, योभन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए, त्यति बेला सरकारमा बसेका मान्छे नै अहिले ठूला ठूला कुरा गर्छन् ।” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रतिनिधिमण्डलले बागलुङको गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहजरुपमा सेवा दिने आफ्नो नीति भएकाले इलाका प्रशासन कार्यालय स्थापना गर्न आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया