भ्रष्टाचार रोक्न माग गर्दै तालाबन्दी

admin

कञ्चनपुर, ६ जेठ: भ्रष्टाचार रोक्न माग गर्दै शुक्लाफाँटा नगरपालिका कार्यालयको योजना शाखामा आज तालाबन्दी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेका योजनामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै स्थानीय युवाहरुको समूहले तालाबन्दी गरेको हो । नगरपालिकाका इञ्जिनीयर तथा प्राविधिकले खुलेआम वडामा गठन भएका उपभोक्ता समितिबाट रकम माग गर्न थालेपछि कारवाहीको माग गर्दै तालाबन्दीमा उत्रिनु परेको युवा दीपक भट्टले बताउनुभयो । “अवैध रुपमा रकम माग गर्नेहरुमाथि कारवाही नगरे नगरपालिकाभित्रका युवाहरु आन्दोलनमा उत्रन्छन्”, उहाँले भन्नुभयो ।

प्राविधिकहरुका अवाञ्छित क्रियाकलापलाई तत्काल नियमन तथा अनुगमन गरी दोषीमाथि कारवाही हुनुपर्ने, बिना प्रक्रिया भर्ना गरिएका कर्मचारीलाई तत्काल खारेज गरी नियमअनुसार पदपूर्ति गर्नुपर्ने र सरकारी सवारी साधन सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नपाइने गरी नियन्त्रण गर्न युवाहरुले माग गरेका छन् ।

कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्ने, निजी सवारी साधन अनावश्क रुपमा प्रयोग गरी नगरपालिका कार्यालयबाट भुक्तानी गर्ने देखिएकाले तत्काल त्यस्ता कार्य रोक्नुपर्ने तथा पेट्रोल, सञ्चारलगायत अनावश्यक भत्ता दिने कार्य रोक्नुपर्ने र नगरभित्रका सम्पूर्ण सार्वजनिक स्थल व्यापक रुपमा अतिक्रमण भइरहेकाले तत्काल अतिक्रमण रोकेर संरक्षण गर्नुपर्ने माग अघि सारिएको स्थानीय युवा भट्टले बताउनुभयो ।

वडा नं १० को पानी पिच गर्ने क्रममा नगरपालिकाका इञ्जिनीयरले रु ८० हजार रकम माग गरेको सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाई दोषी देखिए कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने मागसमेत गरिएको छ । रासस

प्रतिक्रिया