मकवानपुर डेङ्गु नियन्त्रणोन्मुख

राष्ट्रिय समाचार समिति

हेटौँडा, २ भदौ : मकवानपुरमा डेङ्गु रोग नियन्त्रणोन्मुख रहेको छ । गत साउन १ गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विषेशज्ञ डा हरि खड्कालाई डेङ्गु सङ्क्रमण देखिएको थियो । साउन १० गते हेटौँडा उपमहानगरपालिका–४ की सञ्जु ठकुरीमा सङ्क्रमण देखिएपछि जिल्लामा महामारीको रुप लिएको थियो ।

 

हालसम्म जिल्लामा २५० जनामा डेङ्गु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख शशीकान्त सिंहले जानकारी दिनुभयो । ‘भाइरल डिजिज’ भएकाले ठोस उपचार नभए पनि चिकित्सकको निगरानीमा विभिन्न प्रकारको परीक्षण तथा उपचार र स्वास्थ्य रहनसहन तथा खानपानले रोग स्वतः निको हुँदै जाने उहाँको भनाइ छ ।

सङ्क्रमित मध्ये १९० जना पूर्ण रुपमा स्वास्थ्य भएर घर गइसकेका र हाल ६० जना उपचाररत् रहेका जनाइएको छ । डेङ्गुका बिरामीले खचाखच भएका अस्पताल विस्तारै खाली हुँदै गएका छन् । उपमहानगरपालिकाले खोज र नष्ट गर अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकेका कारण र सबै निकायले साथ सहयोग गरेका कारण रोग नियन्त्रणोन्मुख भएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया