मध्यपुरमा राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिताको आयोजना हुँदै

admin

भक्तपुर, २६ कात्तिक: मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले वार्षिक रुपमा बजेट नै छुट्याएर विभिन्न खेलमा खेलाडीको विकास गर्ने, खेलको विकास गर्ने तथा खेलको नगरका रुपमा मध्यपुरलाई चिनाउने उद्देश्यले नगरपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा खेलबारे जानकारी दिँदै प्रतियोगिताको संयोजक वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले आगामी मङ्सिर ४ देखि ८ गतेसम्म मध्यपुरमा प्रतियोगिता आयोजना हुने बताउनुभयो । मध्यपुरथिमि नगरपालिका–४ कार्यालय र मध्यपुर चेस क्लबले संयुक्तरुपमा आयोजना गर्ने भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका र नेपाल च्याम्पियन भइसकेका १० जना राष्ट्रिय खेलाडीसहित देशभरबाट १५० जना खेलाडीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा कूल रु ६ लाख ५० हजार खर्च हुने जानकारी दिँदै उहाँले वडा कार्यालयले रु पाँच लाख र बाँकी खर्च मध्यपुर चेस क्लबले व्यहोर्ने भएको छ ।

मध्यपुरथिमिको ऐतिहासिक दुुई पोखरीमा हुने प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुनेलाई नगद क्रमशः रु ५० हजार, ३५ हजार र २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिँदै श्रेष्ठले विभिन्न ३० विजेता खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । कार्यक्रममा मध्यपुर चेस क्लबका अध्यक्ष पूर्णसुन्दर श्रेष्ठले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले प्रवेश शुल्क मध्यपुरथिमिका बासिन्दा र विद्यार्थी एवं महिला खेलाडीलाई रु ५००, भक्तपुरकालाई रु ८००, काठमाडौँ र ललितपुरलाई रु एक हजार तथा उपत्यकाबाहिरकालाई रु एक हजार ५०० लाग्ने जानकारी दिँदै नेपाल च्याम्पियनलाई निःशुल्क व्यवस्था गरिएको र उपत्यकाबाहिरका खेलाडीलाई बस्ने व्यवस्था आयोजकले गर्ने उहाँले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया