मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट हुने

admin

काठमाडौँ, ३ वैशाख : दोस्रो मनमोहन स्मृति यू–१६ अन्तरप्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता यही वैशाख १८ गतेदेखि राजधानीमा हुने भएको छ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (वैशाख १३ गते)को सन्दर्भ पारेर उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

उक्त प्रतियोगितामा सातवटै प्रदेशका १६ वर्ष मुनिका खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले जानकारी गरायो । सो प्रतियोगिताको विजेताले नगद र खेल सामग्री गरी रु पाँच लाख बराबरको पुरस्कार तथा उपविजेताले खेल सामग्रीसहित रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ । “विजेता र उपविजेता टोलीलाई पुरस्कारको आधा रकम नगद तथा आधा रकम बराबरको खेल सामग्री प्रदान गरिनेछ”, क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले भन्नुभयो ।

सात प्रदेशको टोलीलाई दुई समूहमा विभाजन गरी खेल खेलाइने छ । शीर्ष स्थानमा रहने दुई–दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित खेल मैदानमा सञ्चालन हुनेछ । यही वैशाख २४ गतेसम्म सेतो र रातो जर्सीमा सञ्चालन हुने सो प्रतियोगितामा १२ खेल खेलाइनेछ । प्रतियोगितामा म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदीयमान खेलाडीलाई खेलकूद सामग्री प्रदान गरिनेछ । “सरकारले हालै आयोजना गरेको स्कूल यु–१६ क्रिकेट प्रतियोगतामा छनोट गरिएका खेलाडीलाई आधार बनाएर प्रदेशस्तरीय टोली निर्माण गरिनेछ ।

सबै प्रदेशमा टोली बनाउने काम भइरहेको छ” अध्यक्ष गैरेले भन्नुभयो । गत वर्ष सम्पन्न मनमोहन स्मृति यु–१६ अन्तरप्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको थियो ।
-रासस

प्रतिक्रिया