मनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला

मनिषा थापा

काठमाडौँ, २८ मङ्सिर : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ ।

आर्मी र मनाङको नतिजाले लिगको समीकरणमा निकै ठूलो भूमिका खेल्छ । मनाङ विजयी भएको खण्डमा आर्मीको उपाधि दाबेदारी लगभग समाप्त हुनेछ । मनाङले जित दर्ता गरेमा उपाधि दाबेदारीमा बलियो स्थान बनाउनेछ ।

मनाङविरुद्व आर्मीको जित निकाल्न सके उपाधि होड खुला हुनेछ । त्यसमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले समेत चुनौती पेश गर्ने अवसर प्राप्त गर्नेछन् । तर मनाङले जितेको खण्डमा उसले लिगमा स्पष्ट छ अङ्कको अग्रता लिनेछ र अन्य क्लबको उपाधि सम्भावना पातलो बन्ने छ ।

खेलविज्ञ सञ्जीव मिश्र भन्नुहन्छ, “आजको खेलमा मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो भने उपाधि मनाङले नै जित्नेछ । तर आर्मीले जिते उपाधि होडमा आर्मीसँगै थ्री स्टार र सङ्कटाले पनि दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।”

सात खेलबाट २१ अङ्कका साथ शीर्ष स्थानमा रहेको मनाङले आजको खेल जिते २४ अङ्क हुनेछ । दोस्रो स्थानमा रहेको सङ्कटाको पनि २१ अङ्क रहे पनि उसले एक खेल बढी खेलेको छ । त्यस्तै थ्रीस्टारको पनि सात खेलबाट १८ र आर्मीको सात खेलबाठ १७ अङ्क रहेको छ ।

आजको खेलमा जित निकालेको खण्डमा मनाङले अङ्कतालिकामा स्पष्ट छ अङ्कको अग्रता बनाउनेछ । लगातार सात खेलमा जित निकाल्दै उसले लिगमा एकल अग्रता बनाइसकेको छ । उसलाई सङ्कटा, थ्री स्टार त्रिभुवन आर्मीले पच्छ्याइरहेका छन् । सङ्कटा दोस्रो, थ्री स्टार तेस्रो र आर्मी चौंथो स्थानमा रहेका छन् ।

आर्मी पनि अपराजित टोली हो । आर्मीले पाँच खेलमा जित निकाल्दा दुईमा बराबरीको नजिता निकालेको छ । मनाङ मस्र्याङ्दी क्लबले अहिलेसम्म सात पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालिसकेको छ । आर्मीले भने उपाधि जित्न सकेको छैन ।

प्रतियोगिताको नतिजा हेर्दा मनाङले १३ गोल गर्दा मात्र तीन गोल खाएको छ । यस्तै आर्मीले १२ गोल गरेको छ, भने चार गोल गोल मात्र खाएको छ । लिगअघि दुबै क्लबलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको थियो ।

मनाङले सोहीअनुसार नै लगातार सात खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । उता विभागीय टोली आर्मीले भने लिगको उद्घाटन खेलमै कमजोर टोली एनआरटीसँग अङ्क बाँडेपछि शुरुमै दुई अङ्क गुमायो । छैटौँ चरणको खेलमा पनि फ्रेण्ड्ससँग बराबरीमा रोकिएपछि आर्मी मनाङभन्दा चार अङ्कले पछि परिसकेको छ ।

घरेलु फुटबलमा लिग जित्न नसकेको तथ्यले आर्मीलाई पिरोलिरहेको छ । शारीरिक र प्राविधिक रुपमा बलियो टोली आर्मी यस पटक फुटबलमा उपाधि जितेर नयाँ विरासत खडा गर्न चाहन्छ ।

आर्मीले पछिल्लो समय अग्रपङ्क्तिमा केही कमजोरी गर्दा अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । डिफेन्स र मिडफिल्ड उच्च लयमा देखिएको आर्मीको आक्रमण भने फितलो देखिएको छ । फरवार्ड नवयुग श्रेष्ठ घाइते हुनु र जर्जप्रिन्स कार्की सैन्य प्रशिक्षणमा सामेल हुनुले आर्मीलाई धक्का पुगेको छ । कप्तान भरत खवासमा निर्भर आक्रमणमा टङ्क बस्नेत, दिनेश हेञ्जन र टेकबहादुर बुढाथोकीले अपेक्षित साथ दिन सकेका छैनन् ।

मनाङलाई यसपटक सिजनको शुरुआतदेखि नै खेलाडीको चोटले पिरोलेको छ । सुजल श्रेष्ठ लिगको दोस्रो खेल अगाडि घाइते हुनु र उनको स्थानमा आएका प्रकाश बुढाथोकी पनि डेब्युमै चोट बोक्नुले आक्रमणमा केही धक्का पुग्न सक्ने प्रशिक्षक सुमन श्रेष्ठका बुझाइ छ ।

नेपाली क्लब फुटबलकै सबैभन्दा चर्चित खेल मानिने मनाङ र थ्री स्टारबीचको खेल तेस्रो चरणमै भइसकेको हुँदा मनाङ र आर्मीबीचको खेललाई अब प्रतिक्षित खेलको रुपमा हेरिएको छ । यही खेलबाट मनाङ आर्मीको लिगमा पोजिसन कहाँ रहने भन्ने केही निर्धारण हुने बताउनुहुन्छ पूर्व राष्ट्रिय खेलाडी हरि खड्का । कुमार चौलागार्इं, रासस

प्रतिक्रिया