महरालाई काठमाडाैं जिल्ला अदालत पेश गरिँदै

मनिषा थापा

काठमाडौं, २८ असाेज : संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका नेकपाका सांसद कृष्णबहादुर महरालाई मंगलबार अदालत लगिँदैछ ।

अनुसन्धानका लागि म्याद थप गर्न महरालाई जिल्ला अदालत काठमाडौं लगिने भएको हो । संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार प्रयासको आरोप लगाएपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका महरालाई उच्च रक्तचाप भएपछि केही दिनअघि थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । महरा अहिले पनि अस्पतालमै छन् ।

प्रहरीले आरोपका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । महरा र आरोप लगाउने महिलाको फरेन्सिक परीक्षण पनि भइसकेको छ । दुवैको प्रतिवेदन आएपछि अनुसन्धान थप अघि बढ्ने जनाइएको छ ।

महराले आफूमाथि असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।

महरामाथि बलात्कार प्रयासको आरोप लगाउने महिलाको भिडियो अन्तर्वार्तासहितको समाचार असोज १४ गते सार्वजनिक भएको थियो । आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया