महिला भलिबलको उपाधि एपिएफलाई

admin

काठमाडौँ, २८ पुस : दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज न्यू डायमण्ड भलिबल क्लबको कोर्टमा भएको खेलमा एपिएफ ३–१ ले विजयी बनेको हो । फाइनलमा प्रतिभा मालीले ४२ अङ्क जोडे पनि न्यू डायमण्डलाई जिताउन सकिनन् । उपाधि भिडन्तमा पहिलो सेट गुमाए पनि लगातार तीन सेटमा जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफकी सरस्वती चौधरीले ३१ अङ्क जोडिन् ।

घरेलु टोलीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट शुरुआत गरेको थियो । तर खेलमा एपिएफले उत्कृष्ट पुनरागमन ग¥र्यो । दोस्रो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो २५–२३ र तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो । उपाधिसँगै एपिएफले रु तीन लाख एक हजार प्राप्त गर्यो । उपविजेता न्यू डायमण्डले रु दुई लाख एक हजारमा चित्त बुझायो । लिग कम नकआउटका आधारमा गरिएको प्रतियोगितामा आठ टोली सहभागी थिए । पोखराको टप्स माविलाई पराजित गर्दै अर्को विभागीय टोली पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो । तेस्रो भएको पुलिसले रु एक लाख तथा चौथो भएको टप्स माविले रु ५० हजार प्राप्त ग¥यो ।

यस्तै विधागतरुपमा उत्कृष्ट खेलाडीमा भने न्यू डायमण्डले बर्चश्व कायम गरेको छ । न्यू डायमण्डका प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, झरना श्रेष्ठले उत्कृष्ट सरभर, अनिसा सुनुवारले उत्कृष्ट सेटर, ललिता नाथले उत्कृष्ट क्वीकर, सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्डर, एपिएफकी उसा विष्टले उत्कृष्ट ब्लकर र उत्कृष्ट प्रशिक्षकमा एपिएफकै ज्ञानेन्द्र विष्ट घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकै सरस्वती चौधरी बन्न सफल भइन् । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीले रु १५ हजार र व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच÷पाँच हजार प्राप्त गरेका छन् ।
-रासस

प्रतिक्रिया