सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

मनिषा थापा

कास्की, ३२ जेठ  :  गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह  गर्नुपर्नेमा जोड दिनुभएको  छ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्भ गर्दै उहाँले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।  

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावना अनुकुल नभएको र  लोकतान्त्रिक आन्दोलनको म्याण्डेट विपरीत रहेकाले महासङ्घ र सिङ्गो नेपाली मिडिया आन्दोलनमा उत्रनु परेको बताउनुभयो । राष्ट्रिय सूचना आयोगका आयुक्त एशोदा तिमिल्सिनाले सूचनाको हक प्रयोग गर्न र सार्वजनिक सरोकारका  विषयमा आम नागरिकले चासो लिनुपर्ने सुभाव दिनुभयो ।  प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचनालाई बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा गण्डकी प्रदेभसभा सदस्य हरिशरण आचार्य, महासङ्घ प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेललगायतले कुनै पनि बहानामा  प्रेस  स्वतन्त्रतालाई कुण्ठित पार्न नहुने  र सञ्चारकर्मीले पनि आचारसंहितामा रहेर मर्यादित र तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभएको थियो । साधारणसभामा महासङ्घ गण्डकीको पहलमा अमेरिका निवासी भीष्म अधिकारीबाट प्राप्त रु तीन लाख तथा पोखरा समाज सिड्नीका महासचिव दीपक पहारीबाट प्राप्त रु १० हजार सहयोग केही दिनअघि आगलागीबाट क्षति पुगेर प्रशारण बन्द भएको पर्वतको सामूदायिक रेडियो ‘रेडियो पर्वत’ का अध्यक्ष भोलानाथ शर्मालाई हस्तान्तरण गरिएको थियो । रासस 

 

प्रतिक्रिया