मासुको उत्पादनदेखि भान्सासम्म अनुगमन गर्न जोड

admin

काठमाडौँ, १५ असोज: सरकारले मासु उत्पादन हुने स्थानदेखि भान्सासम्मको नै नियमित अनुगमन गर्नुपर्नेमा मासु व्यवसायीले जोड दिएका छन् । पशु व्यवसायी सङ्घ र चौपाया खरिद बिक्री सेवा सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वच्छ मासु र चाडपर्व’ विषयको अन्तक्र्रिया कार्यक्रममा मासु व्यवसायीले सरकारले चाडबाडमा मात्र बजार अनुगमन नगरी नियमित अनुगमन गर्नुपर्ने बताएका हुन् । मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण रहने सहभागीले बताए ।

पशु व्यवसायी सङ्घका महासचिव कृष्णहरि भट्टले मासु भान्सासम्म पुग्ने खाद्य सामग्री भएकाले यसलाई उपभोक्तासम्म स्वस्थ पु¥याउनका लागि सरकारले उत्पादन हुने स्थान, बधशाला र बिक्रीवितरण गर्ने स्थानसम्म नै अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष चाडपर्व आएपछि मासु र अन्य खाद्य सामग्रीको अनुगमन गर्नु उपयुक्त हुन्छ । मासुको हकमा थप र प्रभावकारीरुपमा अनु्गमन गर्नुपर्छ ।” बङ्गुर व्यवसायी सङ्घका महासचिव डिल्ली पौडेलले पशु बधशाला तथा मासु जाँच ऐन २०५५ लाई कार्यान्वयन गर्न सकेमा मासुजन्य वस्तुमा हुने अनियमितता न्यूनीकरण हुने धारणा राख्नुभयो ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार २०० र काठमाडौँ महानगरपालिकाबाट दैनिक ५०० मेट्रिक टन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । केही समयअघि नै काठमाडौँ महानगरपालिकाले मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन गर्ने र खानयोग्य मात्रै आयात गर्ने भने पनि हालसम्म उक्त विषय अभ्यासमा आउन सकेको छैन ।
-रासस

प्रतिक्रिया