मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा

admin

चितवन, १४ असोज : मुलुककै जेठो कृषि क्याम्पस रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृववि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसका रुपमा परिचित रामपुर कृषि क्याम्पस सङ्कटमा परेको हो । पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णयसँगै उक्त क्याम्पस विस्तापित भएको छ । अहिले रामपुर कृषि क्याम्पस चितवनकै खैरहनीमा सरेको छ । सरकारले उक्त क्याम्पस रहेको जग्गासहितको भौतिक संरचनामा कृषि विश्वविद्यालय बनाउने निर्णयसँगै अहिले खैरहनीस्थित खैरहनी माविको दश जोड दुईको भवनमा सरेको छ ।

चारकोठे भवनमा उक्त क्याम्पसमा विद्यार्थीलाई पढाउनका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको क्याम्पसका क्याम्पस प्रमुख मिलन सुवेदीले बताउनुभयो । खैरहनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त क्याम्पस हाल सञ्चालित रहेको छ । विसं २०२९ मा स्थापना भएको त्रिविको आङ्गीक श्रेणीको उक्त क्याम्पस रामपुरमा ३६२ विगाहा क्षेत्रफलमा रहेको थियो । तर उक्त ठाउँमा कृववि आएपछि अहिले रामपुर कृषि क्याम्पस भौतिक पूर्वाधारविहीन अर्काको भवनमा असारदेखि बिएस्सी एजीको कक्षा सञ्चालन गर्दै आएको छ ।

“पहिलेको भौतिक संरचनासहित जग्गा सबै सरकारले कृवविलाई दिने निर्णयसँगै हामी सडक आयौँ”, उहाँले भन्नुभयो, “अहिले भने नगरपालिकाको उपलब्ध गराएको चार कोठे भवनमा जेनतेन कक्षा सञ्चालन गरिरहेका छौँ ।”

उक्त क्याम्पसको सबै भौतिक संरचना कृवविले लिएपछि छ वर्ष रामपुर कृषि क्याम्पसको नयाँ भर्नासमेत रोकिएको थियो । त्रिवि र कृवविबीच भौतिक संरचना हस्तान्तरणसम्बन्धी विवादले नयाँ भर्ना रोकिएकाले गत वर्षबाट नगरपालिकाले भवन उपलब्ध गराउने भएपछि नयाँ भर्ना शुरु गरिएको क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो । अहिले कृषि स्नातकतहतर्फ प्रथम सत्रान्त (सेमेष्टर)मा ५० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि र कृवविबीच भौतिक संरचनासम्बन्धी विवाद चुलिएपछि सरकारद्वारा गठित गीताभक्त जोशीको संयोजकत्वको समितिले दिएको सुझावअनुसार सरकारले गत वर्ष खैरहनीको कङ्काली सामुदायिक वनको करीब ३५४ बिगाहा क्षेत्रफल दिने निर्णय गरेको छ । उक्त जग्गा हालसम्म पनि हस्तान्तरण नभएकाले क्याम्पसको भौतिक संरचना बनाउन नसकिएको क्याम्पसका कर्मचारी टङ्कराज सापकोटाले जानकारी दिनुभयो ।

भौतिक संरचना नहँुदा कृषि जस्तो प्राविधिक विषयमा प्रयोगात्मक कक्षासमेत सञ्चालन हुन सकेको छैन । स्नातक तह पढाउनका लागि कम्तिमा छ वटा प्रयोगशाला आवश्यकपर्ने भए पनि हाल कुनै पनि प्रयोगशाला रहेको छैन । अहिले क्याम्पसले प्रयोगात्मक कक्षा सञ्चालनका लागि नगरपालिकासँग कृषि शाखाको भवन माग गरेको छ । “जम्मा चार कोठा छ । दुई वटा कोठामा कक्षा सञ्चालन गर्दछौँ”, उहाँले भन्नुभयो, “अन्य दुई कोठा पुस्तकालय र शैक्षिक शाखा रहेको छ । हामीसँग प्रयोगात्मक कक्षा सञ्चालन गर्ने कोठा नै छैन ।”

विगतमा धेरै कृषि विज्ञ उत्पादन गरेको कृषि क्याम्पसलाई अहिले सरकारले तलवबाहेक अन्य बजेट उपलब्धसमेत गराएको छैन । नगरपालिकाले वार्षिक रु ३० लाख क्याम्पसको सञ्चालनका लागि उपलब्ध गराउँदै आएको छ । क्याम्पस प्रमुख सुवेदीले सरकारले बजेट उपलब्ध गराएपछि नगरपालिकाको सहयोगमा क्याम्पस सञ्चालन गरिरहेको बताउनुभयो । उहाँ भन्नुभयो, “आङ्गीक क्याम्पसलाई सङ्घीय सरकारले बजेट छुट्याउनुपर्ने भए पनि हाल नगरपालिकाले गरेको सहयोगमा क्याम्पस सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । तर नगरपालिकाको बजेट मात्र क्याम्पस सञ्चालन हुन सक्दैन ।”

प्रथम सत्रान्तमा अध्ययनरत विद्यार्थी सोनिका परियारले भर्ना भएको तीन महीना बितिसक्दा पनि राम्रोसँग पठनपाठन हुन नसकेको बताउनुभयो । उहाँले कृषि जस्तो विषयमा सैद्धान्तिक पढाइ मात्र गराएर प्रयोगात्मक कक्षा सञ्चालन नगरेको बताउनुभयो । नगरपालिकाका प्रमुख लालमणि चौधरीले चितवनमा कृववि स्थापना भएपछि रामपुर कृषि क्याम्पस नचाहिने तर्क गर्ने केही मानिसका कारण क्याम्पस सङ्कटमा परेको बताउँदै भन्नुभयो, “देश तथा विदेशमा चिरपरिचत कृषि विज्ञ उत्पादन गरेको क्याम्पस अहिलेको अवस्था पुग्दा मलाई दुःख लागेको छ । तर हामीले क्याम्पसलाई पुनःपहिल्यैकै अवस्थामा पु¥याएर छाड्छौँ ।” नगरप्रमुख चौधरी सोही कृषि क्याम्पसबाट कृषिमा स्नातक तह उत्तीर्ण गर्नुभएको हो ।

डीन कार्यालय नहुँदा समस्या
उक्त क्याम्पससँगै रहेको कृषि डीन कार्यालय रामपुर हुँदा सँगैरहेको विसं २०६७ मा कृववि आएपछि विसं २०६९ मा विस्थापित भई काठमाडौँमा सम्पर्क कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । डीन कार्यालय चितवनमा नहुँदा आर्थिक व्ययभार थपिनुका साथै अन्य कृषि विषयसम्बन्धी नीति निर्माण गर्नसमेत समस्या भएको छ । क्याम्पसका त्रिवि कर्मचारी सङ्घका अध्यक्ष शान्तराम दराईले डीन कार्यालय चितवनमा ल्याउनका लागि पटकपटक पहल गर्दा पनि अझै नआएको बताउनुभयो ।

त्रिविअन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थानमा रहेका चार वटा आङ्गीक क्याम्पस रामपुर, पक्लिहवा, लमजुङ र गौरादह कृषि क्याम्पसको केन्द्रका रुपमा डीन कार्यालय चितवन नै रहनुपर्ने उपयुक्त देखिन्छ । तर डीन कार्यालय भाडामा लिइ काठमाडौँमा सञ्चालन भइरहेको छ । नगरपालिकाका प्रमुख चौधरीले डीन कार्यालय नहुँदा क्याम्पसको शैक्षिक कार्यक्रम नै प्रभावित भएकाले चाँडै नै डीन कार्यालयलाई चितवन ल्याउन पहल गर्ने बताउनुभयो ।
-रासस

प्रतिक्रिया