मुलुकको मुख्य एजेण्डा आर्थिक विकास हुनुपर्छ : डा महत

admin

काठमाडौँ, ४ फागुन : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको मुख्य एजेण्डा आर्थिक क्षेत्र हुनुपर्ने बताउनुभएको छ । नेपाल व्यापार सङ्घले आज टोखामा आयोजना गरेको ‘वनभोज तथा सांस्कृतिक कार्यक्रम’मा उहाँले मुलुकको विकासका लागि सरकारले आर्थिक क्षेत्रमा विकास गर्नुपर्ने बताउनुभयो । “आर्थिक विकासका लागि उद्यमशीलताको विकास हुनु जरुरी छ,” उहाँले भन्नुभयो । उदार अर्थनीतिका कारण मुलुक यस अवस्थामा आएको उहाँको भनाइ थियो । 

डा महतले हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको बताउनुभयो । मुलुकको विकासका लागि उद्योगी–व्यवसायीको ठूलो भूमिका रहेको भन्दै उद्योगी–व्यवसायीको मागलाई सरकारले सुन्नुपर्ने उहाँको भनाइ थियो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका डा महतले मुलुकको व्यापार घाटा कम गर्न वर्तमान सरकार लाग्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सरकार सिङ्गो जनता र समुदायको भएकाले सबैको समस्या क्रमशः समाधान गर्दै लैजाने बताउनुभयो । “उद्योगी व्यवसायीलाई आतङ्कित बनाएर देश चल्दैन, यसमा सरकार सचेत छ,” उहाँले भन्नुभयो । 

 

नेता भट्टराईले दुई तिहाइको सरकार नीतिनियम र कानूनी शासनको स्थापनामा लागेको स्पष्ट पार्नुभयो । मुलुकको उत्पादन क्षमतालाई बढाएर अर्थतन्त्रलाई बढाउनाका साथै व्यापार घाटालाई कम गर्न सरकार लागेको उहाँको भनाइ थियो । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले वर्तमान सरकारले साना उद्योगी–व्यवसायीको मर्कालाई बुझ्न नसकेको आरोप लगाउनुभयो । “भन्सार कर, घरबहाल कर, बैंकको चर्को ब्याजदरलगायत समस्या समाधानका लागि सरकार लाग्नुपर्छ,” उहाँले भन्नुभयो । विसं २०४७ मा स्थापना भएको सङ्घले साना व्यवसायीको हक हितमा काम गर्दै आइरहेको सङ्घका अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो । 

प्रतिक्रिया