मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन

रिता घिसिंग

वासिङ्टन, ९ कात्तिक : अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याराभानलाई मेक्सिको सीमाभित्रै रोक्न राष्ट्रिय आपतकालको घोषणा गर्नुका साथै त्यस्तो क्याराभानलाई अमेरिका प्रवेश गर्न नदिने बताउनुभएको छ ।

सीमामा यसअघि नै तैनाथ करिब दुई हजार सैनिकलाई पछिल्लो टोलीले मद्दत गर्नेछ । रक्षामन्त्री जीम म्याटिसले थप सैनिक परिचालन सम्बन्धी आदेशमा बिहीबार वा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

नयाँ परिचालन गरिने सेनाको टुकडीमा चिकित्सक र इन्जिनियरहरु पनि रहनेछन् । अमेरिका–मेक्सिको सीमाको सम्पूर्ण सुरक्षा प्रबन्ध गृह विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले गर्दछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्राट पार्टीले बनाएका फितला कानुनका कारण सीमामा अवैध आप्रवासीलाई रोक्न कठिन भएको दोषारोपण गरिआउनुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभयो, “यो राष्ट्रिय आपतकालीन स्थितिलाई नियन्त्रणमा ल्याउन म सेना परिचालन गर्दैछु । उनीहरु (क्याराभान)लाई सीमामा अवश्य रोकिनेछ ।”

गत अप्रिलमा पनि ट्रम्पले दक्षिणी सीमामा सुरक्षा प्रबन्ध मजबूत बनाउन हजारौं सैनिक परिचालन गर्ने बताउनुभएको थियो । मेक्सिकोसँगको सीमामा पहिलो चरणमा करिब चार हजार सीमारक्षक पठाउने भनिए पनि त्यसको आधा अर्थात करिब दुई हजार सीमारक्षक परिचालन गरिएको थियो ।

यी सैनिकले खासगरी सीमाको गस्ती गरिरहेका अधिकारीहरुलाई थप मद्दत गर्नेछन् । पेन्टागनका प्रवक्ता क्याप्टेन बील स्पिक्सले गृह विभागको आवश्यकताका आधारमा काम गरिरहेको बताउनुभयो ।

मध्य अमेरिकाका आप्रवासीहरु क्याराभान बनाएर अमेरिकी सीमानजिक आउनै लाग्दा अमेरिकाले थप सैनिक परिचालन गर्न लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यी क्याराभानको विषयलाई यही नोभेम्बरमा हुन लागेको मध्यावधि चुनावमा राजनीतिक लाभका निम्ति प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

संयुक्तराष्ट्र सङ्घका अनुसार गत अक्टोबर १३ मा होन्डुरसको सान पेड्रो सुलाबाट शुरु भएको यो क्याराभानमा करिब ७ हजार मानिस सहभागी छन् ।
–रासस

प्रतिक्रिया