मेलम्ची खानेपानी आयोजना पुनः संकटमा,निर्माण कम्पनीका पदाधिकारी भाग्न खोज्दा पक्राउ

शर्मिला गुरुङ

काठमाडौँ, ३ पुष : इटालियन ठेकेदार कम्पनी सीएमसीले आयोजना छाड्ने घोषणा गरेसँगै मेलम्ची खानेपानी आयोजनामा पुनः संकट देखापरेको छ । सीएमसीको यो घोषणासँगै केही महिनाभित्रै मेलम्चीको पानी पिउने उपत्यकावासीको सपना पूरा नहुने भएको छ ।

सो ठेकेदार कम्पनीका प्रतिनिधिले आर्थिक अभाव भएको कारण देखाउँदै मेलम्ची छाड्ने घोषणा गरेको हो । सो कम्पनीले बाँकी रहेको आयोजनाको काम गर्न नसक्ने बेहोराको पत्र आइतबार मेलम्ची खानेपानी आयोजनामा बुझाउन खोजेको थियो । तर, आयोजनाका अधिकारीले सो पत्र बुझ्न मानेनन् । खानेपानी मन्त्रालयले उनीहरूको पत्र नबुझ्न आयोजनालाई निर्देशन दिएका कारण पत्र नबुझेको मन्त्रालयका ती अधिकारीले राजधानीलाई बताए।

यसअघि सो कम्पनीले आफूले दाबी गरेको रकम दिन आयोजनालाई दबाव दिएको थियो । तर, सरकारले भने आयोजनाको बाँकी रहेको काम सकेपछि मात्रै रकम दिने अडान राख्दै आएको थियो ।

आाफूहरूले माग गरेको रकम नपाएपछि आयोजनाको काम त्यसै छाडेर सो निर्माण कम्पनीका ठेकेदार भाग्ने प्रयास गरेका थिए । तर, नेपाल प्रहरीले सो कम्पनीका आठ जनालाई ठमेलबाट पक्राउ गरेको छ । उनीहरू भाग्न लागेको पूर्वसूचना पाएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, सीएमसीको बदमासीका कारण अर्का दुई विद्युत् आयोजना पनि प्रभावित भएका छन् । ती आयोजनाको काम पनि अहिले चलिरहेको थियो । सीएमसीले छाडे ती आयोजनाको काम पनि रोकिने भएको छ ।

मन्त्रालयका अनुसार सोलु–दूधकोसी जलविद्युत् आयोजना र तनहुँ जलविद्युत् आयोजनाको काम पनि यस कम्पनीले पाएको थियो । तर, कामै नसकी बीचमै छाड्दा ती दुई आयोजनाको काम पनि प्रभावित भएको हो ।

मन्त्रालयका अनुसार ६८ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनामा सीएमसीले इन्जिनियरिङ, निर्माण र खरिदसम्बन्धी कामको जिम्मा पाएको थियो । कुल ८ अर्ब रुपैयाँबराबरको लगानी रहेको सो आयोजना तीन वर्षभित्र सक्ने सरकारको लक्ष्य थियो ।

त्यसैगरी, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा मुख्य लगानी एसियाली विकास बैंक (एडीबी) को छ । २०२३ डिसेम्बरभित्र सक्ने लक्ष्य रहेको सो आयोजनामा एडीबीको २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लगानी रहेको मन्त्रालयले जनाएको छ ।

एडीबीले प्राविधिक रूपमा योग्य ठहर गरेपछि सीएमसीसँग सो आयोजना निर्माणका लागि सम्झौता भएको थियो । सीएमसीले यसरी बीचमै छाड्दा उपत्यकावासीको खानेपानीका लागि निकै महŒवपूर्ण मानिएको मेलम्ची खानेपानी आयोजनालगायतका महŒवपूर्ण आयोजना पूर्ण रूपमा प्रभावित भएका छन् । राजधानी दैनिक

प्रतिक्रिया