यसरी बनाउनुस् जाडोमा तातो-तातो खसीको खुट्टाको सुप

रिता घिसिंग

एजेन्सी : चिसोमा खसीको खुट्टाको सुप निकै उपयोगी हुन्छ । खसीको खुट्टाको सुप चिसोमा निकै रुचाइने रेसिपी हो । अधिकांशले यो परिकार मन पनि पराउँछन् । घर–घरमा पाक्ने खसीको खुट्टाको सुप आ–आफ्नै तरिकाले पकाएर खाने गरिन्छ । तर, मिठो र स्वादिलो बनाएर खाने हो भने यसको पनि पकाउने बेग्लै तरिका छ । तरिका सजिलो पनि छ । सेफ शम्भु कार्कीले पकाउने तरिकाबारे जानकारी दिएका छन् :

सामग्री

प्रतिव्यक्ति

– पिस पारेको एउटा खसीको खुट्टा
– थिचेको अदुवा २० ग्राम
– थिचेको लसुन ३० ग्राम
– थिचेको हरियो खुर्सानी दुई पिस
– छाटा मुगी १०० ग्राम
– नुन स्वादअनुसार
– एक चिम्टी ज्वानो
– ठूलो एक चम्चा बटर
– पानी एक बाउल

बनाउने विधि
– आगोमा कुकर बसाल्नुहोस् र बटर राख्नुहोस् ।
– बटर हल्का तातेपछि ज्वानो पड्काउनुहोस् ।
– खसीको खुट्टा राख्नुहोस् । भुट्न नछोड्नुहोस् ।
– थिचेर तयार पारेको लसुन, अदुवा र खुर्सानी पनि हाल्नुहोस् र भुट्नुहोस् ।
– तत्कालै मुगीको दाल पनि राखेर सँगै भुट्नुहोस् ।
– दुई–तीन मिनेट भुटेपछि एक बाउल पानी राख्नुहोस् ।
– स्वादअनुसार नुन राखिदिनुहोस् । यसमा अन्य मसला जा“दैन ।
– अब कुकरको बिर्को बन्द गरेर तीन–चार सिट्ठी लगाइदिनुहोस् ।
– आगो बन्द गरेपछि एकछिनसम्म रहन दिनुहोस् ।
– अब कुकरबाट निकालेर खसीको खुट्टाको सुप खानका लागि तयार भयो ।

प्रतिक्रिया