यातायात समितिका रोक्का सम्पति : राष्ट्रियकरणको साटो फुकुवा

admin

काठमाडौं, असार ३: सरकारले सार्वजनिक यातायात समितिहरूका रोक्का चलअचल सम्पत्ति फुकुवा गर्ने तयारी गरेको छ। राष्ट्रियकरण हुनुपर्ने सम्पत्ति फुकुवा गरेर सरकारले सार्वजनिक यातायातमा वर्षौंदेखि जरा गाडेको सिन्डिकेट संस्थागत गर्न खोजेको देखिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।यातायात व्यवसायीको प्रलोभनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बैंकमा रोक्का रहेको यातायात समितिको चलअचल सम्पत्ति फुकुवा गर्न परिपत्र जारी गरेको छ।

कम्पनीमा रूपान्तरणका लागि यातायात समितिहरूका रकम फुकुवा गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए। कम्पनीमा आउने समितिलाई सहुलियत दिन रकम फिर्ता गर्न लागिएको उनले सुनाए। सरकारले ०७५ वैशाख २१ गते यातायात समितिहरूको सम्पत्ति छानबिन गर्ने भन्दै २ सय ४५ समितिको बैंक खाता रोक्का गरेको थियो। गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरण विभागबाट यातायात समिति तथा पदाधिकारीको सम्पत्ति अनुसन्धान गराउने निर्णय गरेको थियो।

३ सय ७ समितिमध्ये ६२ वटाले वाणिज्य बैंकमा खाता नभएकाले तत्कालीन समयमा रोक्का भएको थिएन। खाता रोक्का भएकाले कर्मचारीको तलब, दुर्घटना बिमा शुल्क, बिजुली र घरभाडा तिर्न समस्या भएको भन्दै समितिले लबिङ गरेको थियो।

प्रतिक्रिया