यी महिलाको पाठेघरबाट निकालियो १० शिशु बराबरको ट्युमर (फोटो फिचर)

रिता घिसिंग

एजेन्सी : चिकित्सकहरुले एक महिलाको शरीरबाट १० शिशु बराबरको ट्युमर शल्यक्रियामार्फत् निकाल्न सफल भएका छन् । मेडिकल भाषामा यसलाई स–साना मलकोष अर्थात् मलकिराबाट उत्पन्न ट्युमर भनिन्छ ।

डेलीमेल अनलाइनमा प्रकाशित समाचारअनुसार नाम गोप्य राखिएको २४ वर्षीया मेक्सिकन युवतीले आफ्नो तौल दैनिक एक्कासि बढेपछि खान र श्वासप्रश्वासमा कठिनाइ भएको भन्दै अस्पतालमा परीक्षणका लागि गएकी थिइन् ।

चिकित्सकहरुले ‘स्क्यान’ गरी हेर्दा उनको डिम्बासयमा ट्युमर हुर्केको ११ महिना भइसकेको पत्ता लागेको थियो । उनको यो ट्युमर लामो शल्यक्रियामार्फत् सफलतापूर्वक निकालिएको हो ।

मेक्सिको जनरल अस्पतालले उनको पाठेघरको डिम्बासयबाट ठूलो किरा अर्थात् मलकोष झिकेर युवतीको जीवन बचाउन सफल भएको उल्लेख गरेको छ ।

अस्पतालका डा. एरिक ह्यान्सन् भियाना र डा. एवेल जलिफको टोलीले पहिलोपटक यस्तो शल्यक्रियाको सुरुवात गरेका हुन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो डिम्बासयमा हुर्केका ट्युमर मानिएको छ ।

६ महिनाअगाडि सम्पन्न यो शल्यक्रियापश्चात् बिरामी सामान्य अवस्थामा आइसकेको अस्पतालले उल्लेख गरेको छ । उक्त शल्यक्रियामार्फत् ती युवती पूर्णरुपमा स्वस्थ्य भएपछि अस्पतालले हालैमात्र योबारेमा सार्वजनिक गरेको हो ।
डा. ह्यान्सन्ले महिलाको पाठेघरमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ट्युमर भएको बताए । जुन स–साना मलकोषहरुबाट बन्छन् र विस्तारै बढ्दै जान्छ ।

उनकाअनुसार ट्युमरको आकार पेटकोभन्दा ९५ प्रतिशत ठूलो थियो । साथै, व्यास आधा मिटर र परिधि १५७ सेमिको थियो । चिकित्सकहरुले यस ‘केस’लाई संसारकै दुलर्भ मानेका छन् ।

सन् १९०२ मा १४५ केजीको ट्युमरलाई बाहिरी शरीरबाट काटेर निकालिएको भएपनि महिलाको पाठेघरमा १२ सेमि आकार र १२ केजी तौलभन्दा ठूलो ट्युमर नहुने विषेशज्ञहरुले बताउँदै आएका थिए ।

 

तर, डा. ह्यान्सन्ले नकाटीकन सफलतापूर्वक उक्त युवतीको पाठेघरबाट ३३ केजीको ट्युमर निकालेको बताए । उनकाअनुसार बिरामीको हातगोडा सुकेको र पेटमात्रै फुकेकोले ट्युमरले उनको फोक्सो र मुटुमासमेत असर गरिसकेको हुँदा श्वासप्रश्वासमा निकै समस्या थियो ।

अस्पतालकाअनुसार शल्यक्रियाको दुई दिनपश्चात उनी अलि–अलि हिँड्नसक्ने भएकी थिइन् । ३३ किलोको ट्युमर निकालेपछि उनलाई हिँड्न असन्तुलन महसुस भएको थियो । उनले आफ्नो शरीरको सन्तुलन गुमाएकीले त्यतिखेर ‘चन्द्रमामा हिँडेकोजस्तो अनुभव’ भएको बताएकी थिइन् । उनलाई साधारण मानिसले जसरी हिँड्न ६ महिना लागेको अस्पतालले बताएको छ ।

चिकित्सकहरुकाअनुसार यो शल्यक्रिया निकै खतरापूर्ण थियो । ट्युमरको २० प्रतिशत भाग निकै संवेदनशील रहेको र केहिगरी ट्युमर फुटेको भए फेरि मलकोषहरु ट्युमरकोरुपमा बढ्न सक्थ्यो । त्यस्तै, ट्युमरको छाला जम्मा एक मिमिकोमात्रै भएकोले सानो त्रुटिले पनि ट्युमर फुट्न सक्थ्यो ।

डा. ह्यान्सन्ले ट्युमर निकालेपछि पेटका धेरै भाग खाली भएकोले ‘स्ट्रेचिङ’को समस्या भएपनि लगातार उपचार र मास ‘स्ट्रेचिङ’का कारण अहिले पेट ‘नर्मल’ रहेको बताए । अहिले उनी मेक्सिकोको ग्रामीण क्षेत्रमा बस्छिन् । सहर आउँदा प्रत्येकपटक अस्पताल पुग्छिन् र सबै डाक्टरलाई धन्यवाद भन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू