‘युवा उद्यमी उत्पादनमा लाग्नुपर्छ’ :नेता महत

admin

काठमाडौँ, ११ चैत : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले सरकार युवा उद्यमी उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल उद्यमी समाज र गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दोस्रो नेपाल युवा उद्यमी सम्मेलन’मा उहाँले मुलुकको विकासका लागि युवा जनशक्तिको ठूलो भूमिका रहेको बताउँदै युवा उद्यमी उत्पादनमा लाग्नुपर्ने बताउनुभएको हो ।

पूर्वअर्थमन्त्री डा महतले नयाँ विचार, अनुसन्धान र कडा मिहिनेतका कारण संसारका धेरै मुलुकले आर्थिक विकास गरेको बताउनुभयो । “मुलुकमा धेरै रिसोर्स भएर मात्र हुँदैन, त्यसलाई सही उपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । विश्वका ८० प्रतिशत मानिस आफ्नै विचार, अनुसन्धान र कडा मिहिनेतले गर्दा धनी भएको उहाँको भनाइ थियो । उहाँले मुलुकको विकासका लागि राजनीतिभन्दा पनि योग्यता र क्षमतावान् व्यक्तिलाई अगाडि लैजानुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं काङ्ग्रेस नेता नवीन्द्रराज जोशीले विश्वमाझ नेपाली युवालाई प्रतिस्पर्धा बनाउनका लागि प्रतिष्ठानले युवालाई उद्यमी बनाउनका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । “१० वर्षमा १० हजार युवा उद्यमी निर्माण गर्ने प्रतिष्ठानको मुख्य लक्ष्य हो”, उहाँले भन्नुभयो । काङ्ग्रेस नेता डा मीनेन्द्र रिजालले युवालाई उद्यमी बनाएमात्र मुलुकको विकास सम्भव भएको बताउनुभयो । “एक वर्षमा एक खर्ब ६० खर्ब खाद्यान्न आयात हुनु नेपालका लागि दुःखद कुरा हो”, उहाँले भन्नुभयो । मुलुकको विकासका लागि उद्यमशीलतको विकास आवश्यक भएको उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले अरूले उत्पादन गरेका वस्तुलाई नक्कली गरेर नेपालको उद्योग क्षेत्रको विकास नहुने बताउनुभयो । “नेपालमा आवश्यक पर्ने सामान स्वदेशमा नै उत्पादन नगरेसम्म नेपालको आर्थिक विकास सम्भव छैन,” उहाँले भन्नुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष भवन भट्टले मुलुकको आर्थिक विकासका लागि एनआरएनले सहयोग गर्ने बताउनुभयो । उद्यमीले नाफा राखेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

बिजनेश अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले युवालाई उद्यमी बनाउनका लागि अनुसन्धान आवश्यक रहेको बताउनुभयो । “मुलुकको विकासका लागि के उत्पादन गर्न सकिन्छ त्यसबारे अनुसन्धान हुनु जरुरी छ,” उहाँले भन्नुभयो । समाजका अध्यक्ष खगेन्द्र आचार्यले युवालाई उद्यमशील बनाएर मुलुकको विकास गर्नु समाजको मुख्य उद्देश्य भएको बताउनुभयो । कार्यक्रममा देशभरका १३ सफल युवा उद्यमी समूहले आफूले उद्यमशीलताको क्षेत्रमा गरेको कामका बारेमा जानकारी गराउनुभएको थियो ।
-रासस

प्रतिक्रिया