यौनिकता दर्शाउने पनौती जात्रा

admin

काभ्रेपलाञ्चोक, २ असार: “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँछन् पनौतीवासी । भोलिपल्टदेखि खेतको काम थाल्ने चलन छ, यहाँ ।


जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको अनुभव पनि छ, यहाँका बासिन्दासँग ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकार बताउनुहुन्छ ।

५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रुपमा लिइन्छ । जात्राअन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ । साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रुमाउँदै एकापसमा जुधाउने काम हुन्छ ।

स्थानीयवासी वृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि ।

रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमले बताउनुभयो । उहाँका अनुसार काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको पनि छ । जङ्गमले भन्नुभयो, “देवतारुपी रथलाई केही वर्षदेखि दिउँसो जुधाउने गरिएको छ ।”

विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य (आचाजू)हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ ।

जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री पनि शुरु हुने जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । जात्रा अवधिभर पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गरिने भएकाले प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ । जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभे्रपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् ।

पनौतीमा आज सार्वजनिक बिदा
स्थानीय पर्व पनौती जात्रा (हिलेजात्रा)मा नगरपालिका कार्यालयले आज सार्वजनिक बिदा दिएको छ । जेष्ठ त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन मनाइने पनौती जात्राको अन्तिम दिन आज विशेष रुपमा मनाइने भएकाले सार्वजनिक बिदा दिइएको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेष महत्व राख्ने ऐतिहासिक पनौती, हिले जात्रा अर्थात् ज्याःपुन्हीमा बिदा दिएका छौँ ।” रासस

प्रतिक्रिया