राखिने लडाकूहरुविरुद्धको जवाफी कारबाहीमा म्यानमारमा १३ को मृत्यु

admin

म्यानमार, ३ माघ: म्यानमारको सेनाले १३ जना राखिने लडाकूहरु मारिएको शुक्रबार जनाएको छ । विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् । राखिने राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन् । राखिने बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग गर्दै भइरहेको विद्रोहका क्रममा विद्रोही र सरकारी सेना बीच भिडन्त भएका हुन् ।

यनीहरुको द्वन्द्वका कारण मुस्लीम धर्माबलम्वी रोहिङ्ग्याहरु ठूलो संख्यामा विस्थापित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सात लाख २० हजार रोहिङ्ग्याहरु बङ्लादेश विस्थापित भएका हुन् । उनीहरु त्यहाँ शरणार्थीका रुपमा बसेका छन् । उनीहरु विरुद्ध सन् २०१७ को अगस्ट देखि सेनाले कडा सुरक्षा कारबाही थालेपछि उनीहरु विस्थापित भएका हुन् ।

जनवरी ४ म्यानमारको स्वतन्त्रता दिवस थियो, त्यही बेला उनीहरुले गरेको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी मारिएका थिए भने अरु नौ जना घाइते भएका थिए । यसैको जवाफी कारबाही सेनाको तर्फबाट गर्दा उत्तिकै संख्यामा विद्रोही पक्षका लडाकूहरु मारिएका छन् । जनवरी ५ देखि १६ सम्म भएको सुरक्षा कारबाहीमा परी मारिएका १३ जनाको शव नियन्त्रणमा लिइएको सैन्य अधिकारीहरुले दावी गरेका छन् । “जवाफी कारबाहीका क्रममा हामीले केही हातहतियारहरु पनि बरामद गरेका छौँ,” मेजर जनरल टुन टुन न्यीले पत्रकार सम्मेलनमा भन्नुभयो । यस्तै हिंसात्मक घटना बढ्दै गएपछि त्यस क्षेत्रका हजारौ स्थानीय बासिन्दा विस्थापित भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया