राजकुमार फिलिप: जो ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँकिरहेका छन्

रिता घिसिंग

बीबीसी : कोही ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्न सक्छ? अनि त्यस उमेरका मानिसलाई गाडी दुर्घटनामा परे कस्तो अनुभूति होला? ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षका भए। उनले गाडी हाँक्न छोडेका छैनन्।

तर बिहीवार उनले चलाइरहेको ल्यान्ड रोभर जीप क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ। दुर्घटनामा उनलाई कुनै चोटपटक लागेन। तर घटनापछि उनी निकै हताश भने देखिए।

के भएको थियो?
स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्‌वे बाट निकाल्दै ए१४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो। उनको जीप अर्को किया कारसँग ठोकिएको थियो। सो कारमा रहेका दुई महिलालाई अस्पतालमा उपचारपछि घर पठाइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएको थियो। उनीहरूले राजकुमार फिलिपलाई बाहिर निकाल्न सघाएका थिए।

दुर्घटनास्थलमा फुटेका सिसाहरू
त्यतिखेर राजकुमार होसमै थिए तर निकै भयभीत अवस्थामा भएको उनीहरूले बताए। स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो।

परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन नगरेको पाइयो। सान्द्रिङ्घम फर्किएपछि राजकुमारले चिकित्सकलाई देखाएका छन्।

राजकुमार अझै गाडी आफैँ चलाउँछन्

बीबीसीका शाही सम्वाददाता जनी डाइमन्ड भन्छन् – यो दुर्घटनाको समाचार सुनेर धेरैले लामो सास फेरे होलान्। पहिलो त राजकुमारलाई केही भएन र उनी दुर्घटनामा सकुशल छन्।

दुर्घटनाको तस्बिरमा ल्यान्ड रोभर पल्टिएको र चालक बस्ने सीटपट्टि भुइँमा घोप्टिएको देखिन्छ। त्यसबाट ठूलै क्षति भएको हुने सक्ने देखिन्छ। तर दरबारले राजकुमार फिलिपलाई कुनै चोटपटक नलागेको बताएको छ।

राजकुमार फिलिप आफ्नो ९८ औँ जन्मदिन पाँच महिनापछि मनाउँदैछन्।यति धेरै उमेरका भए पनि राजकुमार अझै आफैँ गाडी चलाउँछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर उनलाई स्वतन्त्रता सधैँ प्रिय रह्यो।

आफैँ गाडी नहाँक्न दिइएका सुझाव उनले पक्कै टेर्ने थिएनन्। तर यो घटनापछि चाहिँ अब उनलाई आफैँ नचलाउन मनाउन सकिन्छ कि?

फिलिपको भूमिका
महारानीको पतिको रूपमा उनलाई कुनैपनि संवैधानिक अधिकार प्राप्त छैन। तर गत ६५ वर्षभन्दा बढी समयदेखि उनले व्यापक सम्मान पाएका छन्।

बकिङ्घम दरबारबाहिर राजकुमार फिलिप
पहिला उनी नौसेनामा अधिकृत थिए। त्यसै पनि उनी विविध विषयमा आफ्नो कडा धारणा राख्ने गर्थे। राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए।

प्रतिक्रिया