राजा महेन्द्रलाई केटी खोजीदिएकी यी १०२ बर्षीय आमा अहिले बृद्ध आश्रममा, बिगत सम्झेर यसरी भावुक भईन् [हेर्नुहोस् भिडियो ]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। राम देवी श्रेष्ठ राजा महेन्द्रको सवारी चालक थिईन। उनलाई राजाले ‘ड्राइभर्नी’ भनेर बोलाउँथे । रामदेवीका बुवा राजबैद्य थिए । यसर्थ उनको जन्म एक कुलीन घरमा भयो । उनका बुवाका तीनवटी श्रीमती थिए । जेठी श्रीमतीका ६ वटी छोरीमध्येकी एक हुन् रामदेवी । कान्छीपट्टी एक छोरा थिए । तर, भाइबुहारीहरु स्वयम्भुमा बस्छन् भन्ने मात्रै थाहा छ उनलाई । भेट नभएको धेरै वर्ष भइसक्यो, अंकमा गनेर भ्याउँदिनिन् उनी ।

राजा महेन्द्रबाट बक्सिसमा आएको गाडी थियो रामदेवीका बुबाको । ड्राइभरलाई फकाएर उनले गाडी चलाउन सिकिन् । अनि एक दिन राजाकहाँ पुगिन् र खुट्टामा दाम राखेर ढोग गर्दै भनिन्, ‘सरकार मनलाई गाडी चलाउन आउँछ, म हजुरको गाडी चलाउन सक्छु ।’

आउँदो माघमा १०३ वर्ष पुग्दै गरेकी श्रेष्ठले राजा महेन्द्रलाई तात्कालिक नारायणहिटी दरबारदेखि टुँडिखेलसम्म गाडीमा लैजाने र ल्याउने गर्थिन् । उनले चलाएको गाडीमा महेन्द्रमात्रै होइन, राजा वीरेन्द्र/ऐश्वर्य, ज्ञानेन्द्र÷कोमल, दीपेन्द्र, नीराजन र पारससमेत चढेका थिए ।

रामदेवी श्रेष्ठले गाडी चलाएको देखेर राजा महेन्द्र त्यत्तिकै खुसी थिए । उनले सुनाइन्, ‘खुसी भएपछि महेन्द्र सरकारले गाडी बकस दिइबक्सेको थियो ।’ दरबारमा रहँदा महेन्द्र रिसाएको कहिल्यै नदेखेको उनले सुनाइन् । श्रेष्ठको निजी गाडीसमेत थियो । ठहिँटी–नघल क्वाँडोनिवासी उनी वीरेन्द्र सरकारको दुहली खोज्न राजाको गाडी चलाएर थुप्रै ठाउँ पुगेकी थिइन् । उनले राजा महेन्द्रलगायत दरबारियालाई गाडीमा दक्षिणकाली र मनकामनासम्म पुर्याएकी थिइन् ।

संवत् १९७५ माघकी उनले राजाको गाडी चलाउने भएकाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइनन् । उनले भनिन्, ‘लाइसेन्स दिने अड्डाका कर्मचारीले राजाको गाडी चलाउनेलाई लाइसेन्स किन चाहियो ? आनन्दले चलाउनूस् भनेर फर्काइदिए ।’

लाइसेन्सविना राजाको गाडी चलाउने उनले काठमाडौं लैनचौरको गल्कोपाखामा दुई महिना गाडी चलाउन सिकेकी थिइन् । उनका श्रीमान् कृष्णदास श्रेष्ठले पनि राजा महेन्द्रको गाडी चलाएका थिए ।

राजा महेन्द्रको ०२८ मा निधन भयो । राजा महेन्द्र र श्रीमान् कृष्णदासको निधनपछि उनी दरबार कहिल्यै फर्किनन् । दरबारमै रहँदा राजा वीरेन्द्रले दरबारको कुरा बाहिर कसैलाई नभन्नू है भनेका थिए । वचनका पक्का उनले त्यसै गरिन् । दरबारका कुरा कहिल्यै कसैलाई सुनाइनन् ।

रामदेवीको ठहिँटीमा पाँचतले घर थियो । भतिजोले छलकपट गरेर बेचिदिए । घर नौ लाखमा बेचे पनि उनलाई एक लाख रुपैयाँमात्रै थमाइयो । घर बेचेपछि उनको बस्ने टुंगो भएन । निःसन्तान उनी बिचल्लीमा परिन् ।

दिलशोभाले सञ्चालन गरेको आमाको घर (वृद्धाश्रम) को चौथो तलामा लठ्ठीको साहाराले रामदेवी बेलाबखत लो-बेडबाट बल्लतल्ल उठेर जब पट्यारलाग्दो गरी एक-एक पाइला सार्छिन्, लाग्छ, उसरी नै उनको सकसपूर्ण जिन्दगीको यात्रा अघि बढिरहेछ ।

अहिले रामदेवीको अवस्था देख्दा पत्याउन गाह्रो पर्छ कि कुनै दिन उनको सुन्दरतामा मोहित हुनेहरुको लर्को थियो, चार तले घर थियो, सुनका गहना मात्र होइन, चुरा र क्लीप पनि सुनकै लगाउँथिन् । र, राजा महेन्द्रले खबर गर्नासाथ दौडेर नारायणहिटी पुग्थिन् अनि बक्सिस थापेर र्फकन्थिन् ।

तर, रामदेवीको जीवनको चर्खा यस्तो रहस्यमय तरिकाले घुम्यो कि त्यो चर्खाले आज उनलाई बृद्धाश्रममा ल्याएर फ्याँकिदियो । धेरैले भनेजस्तै साँच्चीकै जीवन सप्तरंगी हो भने उनी जीवनको निकै फिक्का रङको अनुभूति गर्दैछिन् ।

तर पनि जीवन साह्रै सन्तुष्ट छिन् उनी। उनलाई न कसैको गुनासो छ न दुखेसो नै। १०२ वर्षसम्म आइपुग्दा उनले बुझेको जिन्दगी हो, ‘जीवन केही छैन, सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी ।’ सन्तोष माने जीवन गुजारिरहेकी रामदेवीको आफ्नो निधन हुँदा कुनै सकस नहोस भन्ने अन्तिम इच्क्षा छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू