राष्ट्रनिर्माताको योगदानको स्मरण[फोटो फिचर]

शर्मिला गुरुङ

काठमाडौँ, २७ पुस  : मुलुकका विभिन्न विधाका विद्वानले नेपाल र नेपालीको पहिचानको जग पृथ्वीनारायण शाह भएको हुँदा उहाँप्रति श्रद्धा व्यक्त गर्नु हामी सबैको कर्तव्य हुने बताउनुभएको छ । २९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिममूलद्वारस्थित शालिकमा माल्यार्पणका लागि पुग्नुभएका तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पृथ्वीनारायण शाहकै योगदानका कारण हामी अहिले विश्वमा नेपाल र नेपाली भनेर गौरव गर्न सकेका छाँै भन्नुभयो ।

उहाँले रासससँगको कुराकानीमा भन्नुभयो, “पृथ्वीनाराणको योगदान कसैले बिर्सन सक्दैन, राजनीतिभन्दा माथि उठेर उहाँको योगदानको हामीले मूल्याङ्कन गर्नुपर्छ । नेपालको माटोमा उहाँको योगदान र अमरत्वको इतिहास सदैव कायम रहन्छ ।’’

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले तमाम नेपालीको पहिचानसँग पृथ्वीनारायण शाह जोडिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल राष्ट्र र सबै नेपालीका लागि पृथ्वीनारायण पुजनीय र बन्दननीय हुनुहुन्छ, राज्य सञ्चालन गर्ने सन्दर्भमा उहाँका दिव्यउपदेश अहिले पनि त्यतिकै सान्दर्भिक छन्, नेपाल र नेपालीको पहिचानको जग भएकाले उहाँलाई हामी सबैले श्रद्धा गर्नुपर्छ ।”

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल राष्ट्र निर्माण भएकै कारण नेपालमा सङ्घीय गणतन्त्र स्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीको नेतृत्वमा नेपाल राष्ट्रको निर्माण नभएको भए हामी अहिले सङ्घीय गणतन्त्र नेपालको सत्तासिन हुन पाउने थिएनौँ, यसको श्रेय उहाँलाई नै छ ।”

 

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायण शाहले बाइसे चौबिसेको सङ्ख्यामा रहेका स–साना टुक्रा राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको हो । राज्य सञ्चालनका सिलसिलामा उहाँले त्यसबेला व्यक्त गर्नुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू