राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

शर्मिला गुरुङ

काठमाडौँ, १३ मङ्सिर : दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका थापाले नेपाल समाचारपत्रका रकिन श्रेष्ठलाई फाइनलमा पराजित गर्दै च्याम्प्यिन बनेका हुन् । त्यस्तै प्रतियोगितामा पुरुषतर्फ दी हिमालयन टाइम्सका महेश आचार्य र नेपाल टेलिभिजनका मदन आचार्य तेस्रो भए ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान तथा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताअन्र्गत महिलातर्फ बीबीसी नेपाली सेवाकी श्रेष्ठले एभिन्यूज टेलिभिजनकी सरिता श्रेष्ठलाई पाखा लगाउँदै पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिकी मुना कार्की र न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की तेस्रो भए । यही मङ्सिर १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्कूलतर्फ १२, कलेजमा छ, भेट्रानमा चार, खेल पत्रकारमा दुई, शारीरिक अपाङ्गमा चार, बहिरा र न्यून दृष्टियुक्त दुई÷दुई तथा पुरुष÷महिला एकल गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया