रासायनिक मल नहुँदा किसानमा मारमा

राष्ट्रिय समाचार समिति

दाङ, ३१ असार: दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् ।तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गर्नुभयो । उहाँले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादनसमेत नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले पानीको समस्या थियो, अहिले मलको समस्या, धान ब्याड तयार छ मल छैन, कसरी रोपाइँ गर्ने ?” अहिले उहाँमात्र होइन यहाँका धेरै किसान रासायनिक मल नपाउँदा मर्कामा परेका छन् । उपमहानगरपालिका–१२ का किसान रामबहादुर घर्तीे पनि मल किन्नका लागि तुलसीपुर बजार आउने र रित्तै घर फकर्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसपटक धान उत्पादनमा कमी आउनेछ ।”

कृषि सामग्री केन्द्र तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा लामो समयदेखि डिएपी मल नभएको बताउनुभयो । उहाँले मल उपलब्ध गराइदिनका लागि मन्त्रालयलाई पटक–पटक जानकारी गराएको पनि बताउनुभयो । उहाँले डिएपी मल अहिले धेरै जिल्लामा नभएको र छिट्टै आपूर्ति हुनेगरी सरकारले पहल गरिरहेको छ भन्नुभयो ।

सरकारी अनुदानको डिएपी मल वितरणको जिम्मा कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनीले पाएका छन् । डिएपी मल रोपाइँ गरेकै दिन हाल्नुपर्ने भएकाले पनि किसान मारमा परेका छन् । दाङमा हालसम्ममा ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अहिले यहाँका किसान रोपाइँ गर्नमा व्यस्त छन् । जिल्लामा कूल ३९ हजार हेक्टर जमीनमा धानखेती हँुदै आएको छ ।

प्रतिक्रिया