लन टेनिस प्रतियोगिता शुरु

मनिषा थापा

रुपन्देही, ११ फागुन (रासस) : यहाँ दोस्रो बुटवल लुम्बिनी खुला लन टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ ।

रुपन्देही लन टेनिस सङ्घ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा विभिन्न आठ विधामा चार महिलासहित ७४ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको पुरुष एकल तर्फको विजेताले कपसहित रु ५० हजार तथा उपविजेताले रु २५ हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी महिला एकल तर्फको उपाधि विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजारबाट पुरस्कृत गरिने टेनिस सङ्घका अध्यक्ष अशोक गुरुङले बताउनुभयो ।

यसैगरि ३५ वर्ष माथिका पुरुष एकलतर्फ प्रथमलाई रु ३५ हजार र दोस्रो रु २० हजार, पुरुष युगलतर्फ प्रथमलाई रु १५ हजार र दोस्रोलाई रु १० हजार, ४५ वर्षमाथिको पुरुष एकल तर्फ रु २० हजार र दोस्रोले रु १० हजार, पुरुष युगलतर्फ प्रथमलाई रु १५ हजार र दोस्रोलाई रु १० हजार, ५५ वर्षमाथिको पुरुष एकलतर्फ प्रथमलाई रु २० हजार र दोस्रोलाई रु १० हजार तथा पुरुष डबलतर्फ प्रथमलाई रु १५ हजार र दोस्रोलाई रु १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । बुटवलको देवीनगरस्थित लन टेनिस कोर्टमा आयोजना गरिएको प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुने सङ्घका सचिव गोपाल ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया