‘कालापानी हाम्रो हो’ भन्दै सत्तारुढ विद्यार्थीले भारतीय दूतावास अगाडि चर्काए नारा

मनिषा थापा

काठमाडौँ : भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ नेकपा सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंस्थित भारतीय दूतावासमा विरोध प्रदर्शन गरेका छन् । नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी लगाएका हुन्।

शुक्रबार नै नेविसंघसहितका विद्यार्थीहरुले पनि लैनचौरमै प्रदर्शन गरेका थिए । संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरबाट गरिएको प्रदर्शनमा सहभागीहरुले भारतको विवादित नक्सा जलाएका थिए । शुक्रबार बिहान नै नेविसंघले पशुपति क्याम्पसदेखि चाबहिल चोकसम्म विरोध प्रदर्शन गरेको थियो ।

‘कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो’ लेखिएका प्लेकार्डसहित अनेरास्ववियूका विद्यार्थीहरु भेला भएर विरोध प्रदर्शन गरेका छन् । यसअघि अनेरास्ववियूले नै भृकुटीमण्डपमा ‘गो ब्याक इण्डिया’को नारासहित प्रदर्शन गरेको थियो ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया