लोकतन्त्रमाथि कुनै किसिमको खतरा छैन : सञ्चारमन्त्री बाँस्कोटा

राष्ट्रिय समाचार समिति

बुटवल, ८ भदौ:  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमाथि कुनै पनि किसिमको खतरा नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनताको त्याग, तपस्या र बलिदानीबाट प्राप्त गणतन्त्र त्यति सजिलै नढल्ने बताउनुभयो ।

लोकतन्त्रमाथि विभिन्न किसिमले हमला गर्ने तत्व सक्रिय भए पनि लोकतन्त्र खतरामा नरहेको मन्त्री बाँस्कोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमाथि हमला गर्ने तत्वसँग सदैव सचेत रहनुपर्छ ।” जनताले स्थापना गरेको गणतन्त्र जनताले नै प्रतिस्थापन गर्न सक्ने उहाँले बताउनुभयो । “धमिलो पानीमा माछा मार्न पल्केकाहरु कहिले धर्मका नाममा, कहिले वंशजका नाममा सल्बलाई रहेका छन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो । सरकारले मिडियालाई नियन्त्रण गर्ने नभई नियमन मात्रै गर्ने उहाँले बताउनुभयो । त्यसैका लागि सरकारले मिडियासम्बन्धी नयाँ कानून ल्याउन लागेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विधेकबाट सञ्चारकर्मी नडराउन आग्रह गर्दै कानूनमा रहेर काम गर्ने कुनै पनि मिडियाकर्मीलाई त्यसले असर नगर्ने स्पष्ट पार्नुभयो । उहाँले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको कुनै मनसाय नरहेको बताउनुभयो । “मूल प्रभावका सञ्चार संस्था कसैको लोभ, धाक, धम्कीको प्रभावमा नपरी व्यवसायमा इमान्दार हुनुपर्छ”, उहाँले भन्नुभयो, “सनसनीपूर्ण बनाएर अफ्ठ्यारो पर्ने र उन्मुक्ति खोज्ने प्रवृत्ति राम्रो होइन ।”

सञ्चारजगत सरकारप्रति नभएर नेपाल र नेपाली जनताप्रति उत्तरदायी र जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो । मिडियाको दुरुपयोग रोक्न सरकार कानून निर्माणमा लागेको मन्त्री बाँस्कोटाले बताउनुभयो । सामाजिक सञ्जालले मूल प्रवाहको मिडियालाई निर्देशित गर्न नसक्ने र त्यस्तो भएमा समाज अराजकतातर्फ जाने भएकाले सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पछिल्ला समयमा सामाजिक सञ्जालमा विकृति बढ्दै गएको छ, कुनै पनि विषयमा भिडले कानूनलाई नियन्त्रण गर्न सक्दैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

टेलिभिजनमा क्लिनफिड र समानुपातिक विज्ञापन वितरण प्रणाली सरकारले लागू गराएरै छाड्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । राज्यका सबै निकायमा कार्यसम्पादन सम्झौताको व्यवस्था पहिले पनि भएको तर कार्यान्वयनमा नआएको भन्दै उहाँले त्यसलाई वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले कार्यसम्पादन सम्झौतापश्चात् सचिवको सरुवाले मन्त्रालयको कामकाज कुनै प्रभावित नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एउटा सचिवसँग गरेको सम्झौता अर्को सचिवसँग कार्यान्वयन नहुने भन्ने हुँदैन ।”

प्रतिक्रिया