लोपोन्मुख ‘हनुमान नृत्य’ संरक्षण गर्दै जुनेली समूह

admin

वालिङ, १ असार : यहाँका स्थानीयवासी लोपोन्मुख अवस्थामा रहेको ‘हनुमान नृत्य’ संरक्षणका लागि सङ्गठित भएका छन् । उनीहरुले स्याङ्जाको वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ को कालिकाकोटमा जुनेली भजनकीर्तन समूह गठन गरी लोपोन्मुख अवस्थामा रहेको ‘हनुमान नृत्य’ संरक्षणका लागि चासो देखाएका हुन् । विशेष गरी ब्राह्मण र क्षेत्री समुदायमा लोकप्रिय रहेको पुरानो भजनकीर्तनलाई व्यवस्थित गर्ने र नयाँपुस्तालाई आकर्षण गर्नका लागि झण्डै चार वर्षअघि समूह गठन गरिएको जुनेली भजनकीर्तन समूह कालिकाकोटका अध्यक्ष रोमाकान्त न्यौपानेले बताउनुभयो ।



“नयाँपुस्ताले भजनकीर्तनलाई महत्व नदिइरहेको अवस्थामा यहाँका स्थानीयवासी ‘हनुमान नृत्य’ संरक्षणका लागि सङ्गठित भएका छौँ”, समूहका अध्यक्ष न्यौपानेले भन्नुभयो, “विभिन्न मेला महोत्सव, प्रतियोगितात्मक कार्यक्रम तथा धार्मिक समारोहमा प्राप्त उपलब्धिबाट थप प्रेरित हुनुका साथै नृत्य सिङ्गो गाउँको पहिचानको रूपमा समेत विकसित भएको छ ।” ‘हनुमान नृत्य’ मा राम र सीता जङ्गल पस्दाको अवस्था, हनुमानले देखाएको बहादुरीजस्ता घटनाक्रमलाई भजनकीर्तनका माध्यमबाट प्रस्तुत गर्नुका साथै हनुमानकै रुपधारण गरी नृत्यसमेत गरिने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

पुराना भजनकीर्तन, झ्याउरे, खेली, चुड्कालाई बढी प्राथमिकताका साथ प्रस्तुत गर्ने यो समूहमा नयाँपुस्ताको रुचि जगाउनका लागि नयाँ–नयाँ योजना अगाडि सारेको समूहले जनाएको छ । “गाउँमा रहेको पिपलडाँडा माध्यमिक विद्यालयले समेत समय–समयमा भजन चुड्का प्रतियोगिता सञ्चालन गर्ने, रुचि राख्नेलाई गाउन, बजाउन तथा नृत्यतर्फ आकर्षित गर्ने गरेका छौँ”, विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका न्यौपानेले भन्नुभयो, “भजनकीर्तन तथा नृत्य गर्न चाहनेलाई विद्यालयस्तरमै प्रशिक्षण दिने गरिएको छ ।”

समय–समयमा विभिन्न धार्मिककार्यमा समूहमार्फत भजनकीर्तन गर्ने र सङ्कलन भएको रकममध्येबाट २० प्रतिशत कोषमा जम्मा गर्ने समूहले जनाएको छ । स्याङ्जा जिल्ला लोकसङ्गीतको उर्वरभूमि भएकाले पनि यहाँ भजनकीर्तन गर्ने जिल्लामा धेरै नै समूह रहेका राष्ट्रिय लोक तथा भजन चुड्का संरक्षण प्रतिष्ठान स्याङ्जाका अध्यक्ष देवीलाल डुम्रेले बताउनुभयो । भजनकीर्तनलाई संस्थागत तरिकाले अगाडि बढाउने र लोपोन्मुख अवस्थामा रहेका हाम्रा कला संस्कृतिको संरक्षण गर्नका लागि जिल्ला कार्यसमिति क्रियाशील रहेको अध्यक्ष डुम्रेले बताउनुभयो । धार्मिक कार्यक्रममा आयोजित प्रतियोगितात्मक कार्यक्रममा जुनेली भजन समूह धेरै पटक पुरस्कृत भइसकेको छ ।रासस

प्रतिक्रिया