वन्यजन्तुबाट खेती जोगाउन मुस्किल

शर्मिला गुरुङ

कावसोती, मङ्सिर २५  :  मध्यवर्ती क्षेत्रका बासिन्दालाई वन्यजन्तुबाट खेती जोगाउन मुस्किल हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपरासीको मध्यवर्ती नजिकका बस्तीमा दिनहुँजसो वन क्षेत्रबाट आउने वन्यजन्तुले अन्नबाली खाने र कुल्चेर नष्ट गर्ने गरेका कारण यस क्षेत्रका बासिन्दा चिन्तित बनेका हुन् ।

“जङ्गली जनावरका लागि खेती लगाए जस्तो भएको छ, कहिल्यै कुनै पनि खेती पाकेर पूरै भित्र्याउन पाइँदैन”, मध्यविन्दु–३, का विष्णु रानाभाटले भन्नुभयो, “मध्यवर्ती छेउमा बस्ने हामी, न लगाएको खेती सकुशल भित्र्याउन पाउँछौँ, न ज्याननै सुरक्षित छ ।”

जङ्गलबाट आउने गैँडा, चित्तल, बँदेल लगायत जनावरले लगाएको बाली खाइदिने, माडिदिने गरेका कारण समस्या भएको कावासोती गैरीका स्थानीय सोमप्रसाद गुरुङले बताउनुभयो । वर्षभरि लगाउने प्रत्येक खेतीबालीमा जङ्गली जनावरले नोक्सान पु¥याउने गरेको उहाँले बताउनुभयो । “अहिले मसुरो छ ,रातभरि मृगको बथान आउँछ, सबै खाएर, टेकेर सखाप छ”, हातले आफूले लगाएको मसुरो बालीतर्फ देखाउँदै गुरुङले भन्नुभयो, “वर्षभरि, मकै, धान, गहुँ जे लगाए पनि सखापै पार्छ ।”

जङ्गली जनावरले खेतीबाली खाने मात्र समस्या नभएर कहाँ कतिबेला आफूलाई नै आक्रमण गर्ने हो भन्ने चिन्तासमेत हुने गरेको गुरुङले बताउनुभयो ।
मध्यवर्ती क्षेत्रमा जङ्गली जनावर रोक्न धेरैजसो क्षेत्रमा विद्युतीय झट्का र तारजाली लगाइएको भए पनि तारजाली नभएको स्थानबाट जङ्गली जनावर बस्तीतर्फ आउने गरेको उहाँको भनाइ छ । जङ्गली जनावरले बस्तीमा आएर स्थानीयलाई हानेर घाइतेसमेत बनाउने गरेको र कतिपयको ज्यानै जाने गरेको स्थानीयवासी बताउँछन् ।

सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा क्षतिपूर्तिका लागि पहल गरेपनि क्षतिपूर्ति पाउन नसकेको धेरैको गुनासो छ । “क्षतिपूर्ति पाइन्छ भनेर धायो, अहिलेसम्म केही पाइएको छैन गुरुङले भन्नुभयो, “क्षतिपूर्ति दिन्छु भनेको धेरै वर्ष भयो तर अहिलेसम्म कसैले केही पाएको छैन ।” वन्यजन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति पाउन निक्कै झन्झटिलो प्रक्रिया भएकाले समेत धेरैले क्षतिपूर्तिका लागि पहल नै गर्दैनन् ।

“जनावरले आफूहरूले वर्षभरि मौसमअनुसार लगाउने सबै बालीमा क्षति पु¥याइरहेको हुन्छ, कहिलेकाहीँ राति कुरेर, होहल्ला गरेर लखेटिन्छ, कुनबेला आएर खान्छ ठेगान हुँदैन”, स्थानीय थमप्रसाद चापागार्इंले भन्नुभयो, “खेतीबाली लगाएको बारी सबै रातभरि जङ्गली जनावर ओहोरदोहोर गर्ने ठाउँ बन्छ ।”

स्थानीयले आफूले लगाएको बाली जङ्गली जनावरबाट जोगाउन खेतमा विभिन्न प्लास्टिक तथा बोराका मावन आकृति बनाएर गाडने गरेका छन् । जनावरले मानिस रहेछ भनेर जनावर आउँदैन कि भनेर यस्तो बनाएर गाडेको चापागाईंले बताउनुभयो । स्थानीयले खेतीबाली जोगाउन गरेको यस्तो प्रयास सफल हुन सकेको छैन ।

वन्यजन्तुले बालीनालीमा धेरै क्षति पु¥याउन थालेपछि अहिले यहाँका स्थानीय तहले वार्षिकरूपमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणमा बजेट विनयोजन गरेर पक्की पर्खाल नै बनाउन थालेका छन् । स्थानीय तहले बजेट विनियोजन गरी मेसजाली सहितको पक्की पर्खाल निर्माणको काम गरिरहेका छन् । यसले वन्यजन्तु बस्तीमा आउनबाट रोक्ने विश्वास लिइएको छ ।

वन्यजन्तु प्रभावित क्षेत्रमा पर्ने कावासोती नगरपालिका–१२ का वडाध्यक्ष खेमप्रसाद काफ्लेले आफ्नो वडाको स्थानीयको माग भनेकै वन्यजन्तुबाट हुने क्षति रोक्नु रहेको बताउनुभयो । वन्यजन्तुका कारण खेतीबाली सहित ज्यानकै जोखिम बढेको भन्दै यसको नियन्त्रणको लागि स्थानीयवासीको माग हुने गरेको उहाँले जानकारी दिनुभयो । काफ्लेका अनुसार वडा कार्यालयमार्फत मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आफ्नो क्षेत्र भित्रको वनसँगको सीमामा पक्की पर्खाल बनाउने कामसमेत थालिएको छ । दयाराम आचार्य, रासस

प्रतिक्रिया